२४ मंसिर, काठमाडौं ।
चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै सर्लाहीका उखु किसानले काठमाडौं केन्दि्रत आन्दोलनको घोषणा गरेका छन् । उखु किसानले मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन थाल्ने घोषणा गरेका हुन् ।
माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने गरी तयारी गरिएको को उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए । उनले भने, ‘मंसिर २७ गते बेलुका सर्लाहीबाट हामी पाँच सय जना किसान काठमाडौंका लागि हिँड्दै छौं, २८ गते माइतीघर घेराउ गर्छौं ।’
सरकारले किसानसँग गरेको पटक-पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको मिश्रले बताए । ‘तिहारअघि पनि उद्योग मन्त्रीलाई भेटेर हाम्रो माग राखेका थियौँ, उहाँले पैसा दिलाइदिने भनेर ठूलो-ठूलो कुरा गर्नुभयो, तर पैसा आएन,’ मिश्रले गुनासो गरे ।
सरकारले किसानसँग पटक-पटक सम्झौता गरेपनि त्यसको कार्यान्वयन नभएपछि निर्णायक आन्दोलनमा गर्ने क्षणमा पुग्नु परेको किसानहरुले बताएका छन् ।
आन्दोलनको कार्यक्रमअन्र्तगत माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने, नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई आफ्नो ब्यथा सुनाउने लगायतका तयारी किसानहरुको छ ।
माइतीघरबाट निकास ननिस्किए चरणबद्ध रुपमा सिंहदरबार र बालुवाटार घेर्नेसम्मको आन्दोलनका लागि किसानहरु तयार भएको संरक्षक मिश्रले बताए ।
सरकारी तथ्यांकअनुसार उखु मिलसँग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ । जसअनुसार श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपयाँ किसानलाई बुझाउन बाँकी छ ।
