नेपाल र भारतबीच थप प्रसारण लाइन बनाउने सहमति

नेपाल र भारतबीच थप प्रसारण लाइन बनाउने सहमति

काठमाडौँ : नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले दुई देशबीचका विद्युत् प्रसारण लाइन सुधार गर्ने तथा थप प्रसारण लाइन बनाउने सहमति गरेको छ ।

शुक्रबार भर्चुअल रूपमा सम्पन्न बैठकले निर्माण गर्ने भनिएका तर अधुरा प्रसारण लाइन निर्माण सम्पन्न गर्नेदेखि दुई देशीय विद्युत् व्यापारलाई सम्भाव्य बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधार गर्न सहमत भएको जनाइएको छ । सहमति अनुसार कोहलपुर–लखनउ चार सय केभी प्रसारण लाइन बनाउन सम्भाव्यता अध्ययन गरिने भएको छ । बैठकमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालका अनुसार सो प्रसारण लाइनमा जोडिन सक्ने जलविद्युत् आयोजना, विद्युत् क्षमता र बजार लगायतका विषयमा विस्तृत अध्ययन हुनेछ ।

त्यसैगरी १३२ केभी कुसहा–कटैया प्रसारण लाइन सम्पन्न गर्ने, भारतले क्षमता विस्तार गरिदिने भनिएको रक्सौल–परवानीपुर प्रसारण लाइनको कामलाई पनि गति दिन नेपाल पक्षले गरेको आग्रहलाई भारतले छिट्टै निर्णय गर्ने जनाइएको छ । नौतनवा–मैनवा प्रसारण लाइनको भारतीय खण्ड निर्माणलाई तीव्रता दिन पनि सहमति जुटेको छ । कोहलपुर–नानपारा प्रसारण लाइनको डिजाइन स्वीकृत गरी पठाएको र भारतीय पक्षले बनाउने खण्ड सम्पन्न गराउनेमा पनि नेपाल पक्षले एजेन्डा बनाएको थियो । यसमा भारतीय पक्ष सकारात्मक रहेको जनाइएको छ ।

बैठकले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता निर्धारण दुवै तर्पmका ट्रान्सफरमर विद्युत् लाइन लगायतका संरचना हेरेर दुई महिनाभित्र टुङ्गो लगाउने सहमति गरेको छ । नेपालले भारतसँगको इनर्जी बैङ्किङलाई कानुनी आधार दिन भारतीय पक्षसँग प्रस्ताव राखेकोमा त्यसलाई सकारात्मक रूपमा लिइएको अर्यालले जानकारी दिनुभयो ।

बैठकमा भएको सहमति अनुसार टनकपुरबाट प्राप्त हुने वार्षिक सात करोड युनिट बिजुली मासिक आधारमा प्राप्त हुने गरेकोमा त्यसलाई पुनः तालिकीकरण गरेर नेपाललाई बढी चाहिने बेला बढी लिन पाउने र कम चाहिँदा कम ल्याउने गरी लचिलो बनाउन पनि सहमति जुटेको छ । भारतीय पक्षले भने नेपालमा निर्माणाधीन भारतीय लगानीका जलविद्युत् आयोजना निर्माणमा सहजीकरण गरिदिन आग्रह गरेको थियो ।

भारत सरकारका ऊर्जा सचिव सञ्जीवनन्दन सहायका, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा तथा विभिन्न मन्त्रालय तथा भारतीय राजदूतावास, एनएचपीसी लिमिटेड, एनटीपीसी लिमिटेडलगायत निकायका अधिकारी सहितको १७ सदस्यीय टोलीको बैठकमा सहभागिता थियो ।

नेपालका तर्पmबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नेतृत्व गर्नुभएको टोलीमा मन्त्रालयका सहसचिव प्रवीणराज अर्याल, नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतका उच्च अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

दुवै पक्षले दुई देशबीच ऊर्जाको क्षेत्रमा भएका सहकार्यलाई थप सशक्त बनाउनेलगायत एकीकृत ग्रीडको विकास एवं बिस्तार, आवश्यकता अनुसार थप अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण, नेपालको जलविद्युत् तथा सौर्य ऊर्जा परियोजनामा लगानी लगायतका प्रतिबद्धता दोहो¥याएका थिए ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.