एजेन्सी । अमेरिकाले २७ वर्षपछि सुडानलाई आतंकवाद प्रायोजक राज्यको सूचीबाट हटाएको छ ।
सुडानको राजधानी खार्ताेमस्थित अमेरिकी दुतावासले सामाजिक सञ्जाल फेसबुक मार्फत आतंकवाद प्रायोजक राज्यको नामबाट छुटकारा पाएको उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आतंकवाद राज्यको सूचीबाट हटाइनु सुडानको संक्रमणकालीन सरकारका लागि सर्वाेच्च प्राथमिकताको विषय बनेको थियो । सुडानका राष्ट्रपति ओमर अल बसीरले आतंकवादीलाई समर्थन गरेको भन्दै अमेरिकाले सन् १९९३ देखि आतंकवाद प्रायोजक राज्यको सूचीमा राखेको थियो । अमेरिकाले सुडानलाई आतंकवाद प्रायोजक राज्यको सूचीमा राखेपछि प्राप्त गर्दै आएको अन्तराष्ट्रिय राहत समेत कटौती भएको थियो । सन् १९९८ मा केन्या र तान्जानियास्थित अमेरिकी दुतावासमा आक्रमण गरे बापत ३ सय ३५ मिलियन डलर तिर्न सहमत भएपछि यसअघि अक्टुबरमा नै राष्ट्रपति ट्रम्पले सुडानलाई आतंकवादी राज्यको सूचीबाट हटाउने घोषणा गर्नु भएको थियो । अमेरिकाले इरान, उत्तर कोरिया र सिरियालाई भने अझै पनि आतंकवादी मूलुकको सूचीमा राखेको छ ।
