१ पुष, काठमाडौं । नेपाल भलिबल संघले अर्काे वर्ष चीनमा आयोजना हुने एसियन महिला च्याम्पियनसिपमा राष्ट्रिय महिला भलिबल टिमलाई सहभागी गराउने निर्णय गरेको छ ।
बुधबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले सन् २०२१ मा चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा सहभागीताका लागि नेपालले समेत दाबी गर्ने निर्णय लिएको हो । चाईना भलिबल संघले आयोजना गर्ने एसियन च्याम्पियनसिप अगष्ट २९ बाट सेप्टेम्बर ५ सम्म आयोजना हुदैछ । नेपाल भलिबल संघले एसियन च्याम्पियनसिप खेल्ने दाबी सहित एसियाली भलिबल महासंघ (एभीसी)लाई पत्राचार गर्ने निर्णय गरेको हो । एसियन च्याम्पियनसिपमा सेन्ट्रल जोनबाट एक देश सहभागी हुने व्यवस्था छ । एभिसी सेन्ट्रल जोन र १३ औ सागमा नेपालको महिला टिमले गरेको प्रर्दशन र नतिजाका आधारमा महिला टिमलाई एसियन भलिबल च्याम्पियनसिपमा सहभागी गराउने निर्णय गरिएको हो । एसियन च्याम्पियनसिपमा सहभागी हुन जनवरी १५ सम्म टिम दर्ता गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार भलिबल संघले नेपाली टिमलाई सहभागी गराउने निर्णय लिएको हो । एभिसीले नेपालको दाबी स्विकार गरेमा नेपालको महिला टिमले अर्काे वर्ष एसियन च्याम्पियनसिपमा सहभागीता जनाउनेछ । भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले प्रतियोगितामा १६ भन्दा बढी टिमले दाबी प्रस्तुत गरेमा नतिजा र प्रर्दशनका आधारमा टिम छनोट हुनेछन् । यस्तै, बैठकले कोरोनाले प्रभावित भलिबल प्रतियोगितालाई सुचारु गर्ने निर्णय गरेको छ । कोरोनाले प्रभावित बनेको राष्ट्रिय लिग समेत छिट्टै सञ्चालनमा ल्याउने संघले बताएको छ । भलिबल संघले राष्ट्रिय स्तरको क्लब च्याम्पियनसिप खेल्ने महिलाका ६ र पुरुषका ८ टिमलाई बोलाएर अन्तरक्रिया समेत गर्ने भएको छ । भलिबलका क्लबलाई थप व्यवस्थित र कानुनी दायमा ल्याउन संघले उपाध्यक्ष निरोज मास्केको नेतृत्वमा समिति गठन गर्ने निर्णय बैठक गरेको छ । मास्के नेतृत्वको समितिले भलिबल क्लबलाई कानुनी दायमा ल्याएर थप व्यवस्थित बनाउने प्रकृया अघि बढाउने कार्यादेश पाएको छ ।
बैठकले सरकारले घोषणा गरेको अन्तराष्ट्रिय स्तरको भलिबलको कभर्डहल निर्माणका लागि अध्यक्ष मनोरञ्जन रमण शर्माको नेतृत्वमा समिति गठन गरेको छ । समितिले राखेपसंग सहकार्य गर्दै कभर्डहल निर्माणको स्थान र डीपीआरको टुङ्गो लगाउने भलिबल संघले जनाएको छ ।