२ पौष, सर्लाही । जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवको नेतृत्वमा टोलीले सीमा सर्लाहीको नाकामा लगाइएको ढाट हटाएको छ।
कोरोना महामारीको संक्रमण बढ्न सक्ने भन्दै सरकारले गत चैतदेखि बन्द गरेको नेपाल भारत सीमा नाका खोल्नुपर्ने माग राख्दै टोलीले सीमानाकामा लगाइएको ढाट हटाएको हो।
महिनौदेखि बन्द भएको सीमानाकाले सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको भन्दै सांसद यादव नेतृत्वको टोलीले सर्लाहीको मलंगवा–सोनबर्सा सीमा नाकामा लगाइएको ढाट हटाएको हो।
सीमानाका खुला गर्नुपर्ने भन्दै बुधबार दिउँसो पूर्वमन्त्री यादवको नेतृत्वमा सर्वपक्षीय संघर्ष समिति सर्लाहीका सदस्य एवं स्थानीय नेताहरू सहितको टोलीले नारा जुलुस लगाउँदै मलंगवास्थित दशगजामा पुगेर सीमानाकामा लगाएको ढाट हटाएका थिए।
बन्द रहेको सीमानाका खोल्नुपर्ने लगायतका माग राख्दै सर्वपक्षीय संघर्ष समिति गत मंसिर २१ गतेदेखि आन्दोलनरत छन्।
यसअघि समितिले मंगलबार साँझ सीमानाका खोल्नुपर्ने भन्दै मसाल जुलुस समेत प्रर्दशन गरेको थियो।
सीमानाका खोल्नुपर्ने, राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग चालू आर्थिक वर्षमै निर्माण सम्पन्न हुनुपर्ने, लगायतका ५ बुँदे माग राख्दै अनिश्चितकालीन धर्ना सहितका आन्दोलन जारी राखेको समितिले जनाएको छ।
समितिले आन्दोलनका बाबजुद सरकारले आफूहरूको माग सम्बोधन नगरे आन्दोलनलाई अझ कडा बनाउने चेतावनी समेत दिएको छ।
