६ पौष, कपिलवस्तु । जाडो याममा तराईमा देखिने शीतलहरको समस्याले यस बर्ष पनि कपिलवस्तुको जनजीवन कष्टकर बनेको छ । जाडो बढ्दै पछि जनजीवन कष्टकर बन्दै गएको हो ।
दिनभरी जसो नै लाग्ने हुस्सु र कुहिरोका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो । शीतलहरसँगै बढ्ने कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल असर पर्ने गरेको छ ।
चिसोवाट वृद्धवृद्धा, बालवालिका र दैनिक मजदूरी गरेर जिविका चलाउने वर्ग बढी प्रभावित हुने गरेका छन् । चिसो बढेसँगै घर घरमा आगो बालेर ताप्ने गरेका छन् । चिसोबाट बच्नका लागि बाक्लो लुगा लगाउने गरेको स्थानीयले बताएका छन् ।
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा, महाराजगन्ज, बहादुरगञ्ज, कृष्णनगर, चार नम्बर, गोरुसिङ्गे, पकडी लगायत रुपन्देही, नवलपरासी, दाङ, बाँके, बर्दिया र तराईका अन्य जिल्लामा समेत केही दिनयता चिसो बढेको छ ।