७ पौष, काठमाडौँ । चालू आर्थिक वर्ष २०७७र७८ को पहिलो चार महिनामा ३३७ अर्ब ७२ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । मुलुकमा कोरोना कहरयता उच्च सुधारमा रहेको रेमिट्यान्स आप्रवाह चार महिनामा ११.२ प्रतिशतले वृद्धि भएको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण विश्व अर्थतन्त्र तथा नेपालको अर्थतन्त्र पनि खलबलिएका बेला नेपालमा भित्रिने रेमिट्यान्स भने निरन्तर बढ्दो छ ।
नेपाल राष्ट्र बैङ्कले सोमबार प्रकाशित गरेको आर्थिक वर्ष २०७७र७८ को चार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई दुई अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो ।
श्रम स्वीकृति लिने घटे
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७५.८ प्रतिशतले कमी आई १९ हजार २५१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५.६ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५ हजार ९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९.१ प्रतिशतले बढेको थियो ।
कुल आन्तरिक कर्जा बढ्यो
समीक्षा अवधिमा कुल आन्तरिक कर्जा पनि ४.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ५.७ प्रतिशतले बढेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।