बंगलादेशमा रोहिङ्ग्या शरणार्थी स्थानान्तरण अभियान जारी

१४ पुस ७७, मंगलबार
Share this
710shares

१४ पुस, एजेन्सी।

Advertisement

बंगलादेशमा शरणार्थीका रुपमा रहेका रोहिङ्ग्या मुस्लिम समुदायका केही व्यक्तिलाई चार वटा नौसैनिक जहाजमा राखेर मङ्गलबार अन्यत्र स्थानान्तरण गरिएको छ ।

बंगलादेशले हाल रोहिङ्ग्या शरणार्थी शिविरमा निकै भिड भएको भन्दै बंगलादेशकै अर्को टापुमा केही शरणार्थीलाई स्थानान्तरण गर्ने प्रक्रिया थालेको छ । रोहिङ्ग्या शरणार्थीलाई उनीहरुकै मुलुक म्यान्मार फर्काउने विषयमा भइरहेका प्रयास तत्कालका लागि सफल नभएपछि बंगलादेशले नयाँ कदम चालेको हो ।

Advertisement

सरकारले झण्डै एक हजार ८०० शरणार्थीले भाशान चार भन्ने टापुमा नयाँ जीवन शुरु गर्न इच्छा देखाएको जनाएको छ । यस टापुमा यसै महिनाको शुरुतिर एक हजार ६०० शरणार्थी स्थानान्तरण भइसकेका छन् ।

तर अधिकारकर्मीहरुले शरणार्थी स्थानान्तरण प्रक्रियामाथि शंका व्यक्त गरेका छन् । उनीहरुको भनाईमा कतिपय शरणार्थीलाई जबर्जस्ती नयाँ स्थानमा स्थानान्तरण गरिएको छ ।

Advertisement

बंगलादेश सरकारले करिब १० लाख शरणार्थीमध्ये नयाँ स्थानमा एक लाखलाई नयाँ घर बनाएर राख्न चाहेको स्पष्ट पारिसकेको छ । यस टापुमा हरेक वर्ष बंगालको खाडीबाट शुरु हुने डरलाग्दा समुद्री छालले दुःख दिने गरेको छ ।

स्थानान्तरित हुने रोहिङ्ग्या समुदायका व्यक्तिहरुले चटगाउँबाट भाशान चारतर्फ प्रस्थान गर्नुअघि आफूसँग भएका सरसामान, खेलौना, कुखुरा समेत बोकेका थिए । साथीहरुसँग छुट्टिनुअघि उनीहरु एकअर्कासँग अंकमाल गर्दै सेल्फी खिचिरहेका थिए ।

बंगलादेशका विदेश मन्त्री अब्दुल मोमिनले भाशान चार निर्जनजस्तो देखिए पनि यो “सुन्दर रिसोर्ट” रहेको बताए । म्यान्मारको सैन्य कारबाहीबाट जोगिन सन् २०१७ मा ठूलो संख्यामा रोहिङ्ग्या मुस्लिम समुदाय पलायन भएर सीमावर्ती बंगलादेशमा आइपुगेका थिए । हाल करिब १० लाख शरणार्थी छन् ।

रोहिङ्ग्या समुदायको पलायन रोक्ने विषयमा बंगलादेश दिर्घकालीन समाधान खोज्न संघर्षरत रहेकै अवस्थामा बंगलादेशी अधिकारीहरु भने रोहिङ्ग्याका लागि भाशान चारमा राम्रो बसोबास र सुरक्षा उपलब्ध गराउने अभियानमा लागेका छन् ।

विदेश मन्त्री मोमिनले भाशान चारमा रहेको व्यवस्थाबाट रोहिङ्ग्या समुदायका व्यक्तिहरु निकै प्रसन्न रहेको दाबी गरे । कतिपय रोहिङ्ग्या समुदायका व्यक्तिहरुले आफूहरु खुशीसाथ नयाँ स्थानमा जान लागेको बताएका छन् । सैनिक जहाजमा चढेका शाफी आलमले पुरानो शिविर निकै भिडभाडयुक्त र घुमघाम गर्न समेत कठिन हुने किसिमको रहेको बताए।

डिसेम्बर ४ मा पहिलो पटक स्थानान्तरित गरिएकामध्ये कतिपय रोहिङ्ग्याहरुले बंगलादेशी प्रहरीले आफूहरुलाई कुटपिट गरेको र धम्क्याइएको बताएका थिए । राष्ट्रसंघले रोहिङ्ग्याको स्थानान्तरण प्रक्रियामा आफूहरु सहभागी नरहेको बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top