१६ पुस, काठमाडौँ ।
नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर चीन र भारतपछि अमेरिकाले पनि मुख खोलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले संसद विघटनलगायत नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई चीन र भारतले जस्तै नेपालको आन्तरिक मामिला भनेको छ ।
‘यो नेपालका सार्वभौम संस्थाहरु र राजनीतिक दलहरुले आफ्नो लोकतान्त्रिक संवैधानिक प्रक्रिया र कानूनको शासनअनुरुप समाधान गर्ने आन्तरिक मामिला हो ’ दूतावासकी प्रवक्ता आना रिची–एलेनले भनिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपाभित्रको विवादका कारण पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपालमा नयाँ राजनीतिक संकट देखा परेको थियो ।
यसअघि नेपालको उत्तरी छिमेकी चीनबाट चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (दाहाल…–नेपाल समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललाई भेटेको थियो ।
साथै, चिनियाँ टोलीले सभामुख अग्नि सापकोटा, जनता समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराई र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेको थियो । उक्त टोली पुस १२ गते नेपाल आएर १६ गते फर्किएको थियो ।
पुस १३ गते बेइजिङमा भएको पत्रकार सम्मेलनमा नेपालको नयाँ राजनीतिक घटनाक्रमबारे जवाफ दिने क्रममा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ ली च्येनले ‘चिनियाँ कम्युनिष्ट पार्टीले अर्काको स्वतन्त्रता, समानता, आपसी सम्मान र कसैको आन्तरिक मामिलामा हस्तक्षेपको सिद्धान्त नअपनाउने’ प्रष्ट पारेका थिए ।
नेपालको दक्षिण छिमेक भारतले भने पुस ९ गते प्रतिनिधि सभा विघटनको निर्णय र त्यसपछि विकसित राजनीतिक घटनाक्रलाई भारतले आफ्नो जानकारीमा रहेको उल्लेख गरेको थियो । भारतकाे विदेश मन्त्रालयले यो नेपालको आन्तरिक मामिला भएकाे बताउँदै लोकतान्त्रिक विधिअनुसार नेपालले नै आवश्यक निर्णय गर्ने बताएकाे थियाे ।