शे-फोक्सुण्डो क्षेत्र संरक्षणमा सहकार्य सफल, हेलिकाेप्टर उडानमा कडाइ

१९ पुस ७७, सोमबार

१९ पुस, जाजरकोट ।

भूगोलका हिसाबले डोल्पा ठूलो जिल्ला । सोही जिल्लाको मध्य तथा माथिल्लो भागमा अवस्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हो । यसको भू–भाग डोल्पा र मुगु जिल्लामा फैलिएको छ । पछिल्लो समयमा स्थानीयवासी र निकुञ्जको सहकार्यमा संरक्षणमा ठूलो सफलता हासिल भएको छ ।

नेपालको पश्चिमी दुर्गम हिमालपारि क्षेत्रमा रहेको शे–फोक्सुण्डो निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रबाट लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।

Advertisement

यस निकुञ्जलाई डाँफे, मुनाल, चिरलगायत २०० प्रजाति पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएको छ । यहाँ पाइने हिउँ चितुवाको आहार–विहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मिटर), सिकाल्पो खाङ (६,५५६ मिटर), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखर र कतिपय हिमनदीले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।

निकुञ्जको लगभग मध्यभागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ सेप्टेम्बर २३ मा रामसार साइट सूचीकृत गरिएको छ । एघारौँ शताब्दीमा निर्मित शे–गुम्बा यहीँ छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ ।

Advertisement

फोक्सुण्डो ताल मात्र नभएर कर्णालीको पहिचान पनि हो । उच्च हिमालमा हिउँबाट पग्लिएको कञ्चन पानीबाट निर्मित ताल र यहाँको निकुञ्जको मनमोहक वातावरणले दुनियाँको मन लोभ्याउने गरेको छ । यसलाई जोगाउनका लागि निकुञ्जले पछिल्लो वर्ष ठूलो मेहनत गरेको देखिन्छ ।

निकुञ्ज जोगाउनु र यहाँका सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याउनु अहिले मुख्य भूमिका भएको निकुञ्जका वार्डेन सरोजमणि पौडेलले जानकारी दिनुभयो । सोही अनुसार अहिले जनसाधारणसँग निकुञ्जको महत्व र यहाँबाट लिन सकिने सेवाका विषयमा समेत सचेतना फैलाउने काम भएको छ । सन् २०१८ मा दुई हजार ७२ र सन् २०१९ मा चार हजार १३६ नाउर रहेका थिए । सन् २०२० को नतिजा आउन बाँकी छ ।

निकुञ्जलाइ संरक्षणका लागि स्थानीयवासी र निकुञ्जको सक्रियतामा चोरी निकासी रोक्ने अभियान सफल हुँदै गएको छ । चोरी निकासीमा संलग्न ३७ थान बन्दुक निकुञ्जले बरामद गरी चोरीपैठारीलाई रोक्ने काम गरेको संरक्षणमा जुटेका स्थानीयवासी बताउँछन् । जथाभावी चोरी निकासी रोकथामसँगै निकुञ्ज क्षेत्रमा घोरल, नाउरहरु निकुञ्जको मुख्य क्याम्प रहेको सुलिगाडमै देखिन थालेको सर्वसाधारण बताउँछन् । चोरी निकासी रोकी संरक्षणमा व्यापक सुधार आएपछि वन्यजन्तुको सङ्ख्या बढेको हो ।

जङ्गली जनावरबाट निकुञ्ज आसपासका क्षेत्रमा हुने क्षतिलाई मध्यनजर गरी सर्वसाधारणलाई राहत उपलब्ध गराउने कामलाई समेत तीव्रता दिइएको निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्रको आसपासमा रहेका सर्वसाधारणलाई राहत, क्षतिपूर्तिका विषयमा जानकारी नहुँदा बर्सेनि पीडित बनेका सर्वसाधारण अहिले निकुञ्जको सचेतनामूलक काम गाउँगाउँमा पुर्याउँदा निकुञ्ज र स्थानीयवासीका बीचमा समन्वय सहकार्यका साथै आपसी सदभावसमेत राम्रो भएको शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिए। उनले भने, “निकुञ्जले नियमानुसार काम गर भनेको हो । पहिले जथाभावी गर्ने चलन रहेछ, अहिले स्थानीय सरकार र निकुञ्ज बीचमा राम्रो सम्बन्ध अनि सहकार्य रहेको छ । विकासमा हातेमालो गर्दै अगाडि बढेका छौँ ।” केही मिडियामा आएजस्तो चर्को विरोध र काम गर्न गाह्रो भने नभएको न्यौपानेले बताए ।

वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण कार्यलाई निकुञ्जले प्रथम दायित्वका रूपमा लिँदै उपल्लो डोल्पाका सर्वसाधारणलाई राहत, क्षतिपूर्ति पाउने विषयमा जानकारी नभएको सन्दर्भमा अहिले गाउँगाउँमा गएर राहतको विषयमा समेत सचेत गराइ सो व्यवस्थाबारे ज्ञात गराएको छ । निकुञ्जभित्रका वन्यजन्तु र मानवबीचको द्वन्द्व कम गर्नुका साथै वन्यजन्तुप्रतिको प्रतिशोधलाई कम गर्न निकुञ्जले पशु बीमा योजना कार्यान्वयनमा ल्याएको छ । रु एक करोड ५५ लाखको कोष खडा गरी नयाँ आयाम ल्याइएको छ ।

निकुञ्जले पछिल्लो समयमा सङ्घसंस्थासँग अत्यधिक समन्वयसमेत बढाएको छ । अघिल्लो वर्षसम्म अनुमति नलिई जथाभावी निकुञ्जमा प्रवेश गर्ने परिपाटीलाई अहिले पूर्णरूपमा बन्द गरी पशुपक्षीको संरक्षणमा थप जोड दिएको छ । बर्सेनि निकुञ्जले शिक्षा क्षेत्रमा समेत लगानी गर्दै आएको छ । बर्सेनि दुई विद्यार्थीलाई छात्रवृति दिएर शिक्षामा लगानी गर्दै आएको हो । सर्वसाधारणलाई घर निर्माण गर्नका लागि यथाशीघ्र नियमानुसार काठको पुर्जी उपलब्ध गराएको निकुञ्जको भनाइ छ ।

निकुञ्जले गरेको आम्दानीको ५० प्रतिशत मध्यवर्ती क्षेत्रमा सर्वसाधारणलाई सहयोग गर्दै आएको छ । पाँच हिउँ चितुवा संरक्षण समिति गठन गरी यसको महत्वबारेमा दर्शाउनुका साथै निकुञ्जमा अवतरण गर्ने हेलिकोप्टर जाँचमा कडाइ गरिएको बताएको छ । त्यस्तै १७ उपभोक्ता समिति गठन गरी संरक्षणका लागि परिचालन र सहकार्यको काम जारी राखिएको छ । त्यस्तै १७ चोरी शिकार नियन्त्रण युवा जागरण समूह गठन गरी युवा परिचालनसमेत गरिएको छ । युवा पिँढीले वन्यजन्तुप्रतिको माया र संरक्षणमा टेवा पुग्न यो अभियान थालिएको छ । मध्यवर्ती क्षेत्रका युवालाई नेचर गाइडको तालिम दिएर नेचर गाइड एशोसिएसन गठन गरी परिचालन गरिएको छ । त्यस्तै रातो हाब्रे संरक्षण गर्न छुट्टै संरक्षण समिति गठन गरिएको छ ।

निकुञ्जमा आउने हेलिकोप्टर जाँच कडा

निकुञ्जभित्र अनुमति नलिई जथाभावीरूपमा हेलिकोप्टर अवतरण गराउने कार्यलाई कडाइका साथ लिइएको वार्डेन पौडेलले जानकारी दिए। अघिल्लो वर्ष हेलिकोप्टरमा सुकुटी भेटिएपछि मुद्दासमेत चलाएको थियो । यार्सागुम्बा व्यवस्थापन निर्देशिकामा भएको व्यवस्थालाई समयअनुसार परिमार्जित गर्न आवश्यक भएकाले सो कार्यलाई परिमार्जनका लागि अहिले निकुञ्ज र विभागमा पेश गरिएको उनले जानकारी दिए ।

निकुञ्जभित्र रहेको जडीबुटी चोरी निकासी रोक्नका लागि कडाइ गरिएको छ । निकुञ्जभित्र पाइने जटामसी चोरेर बाहिरी जिल्लामा लगी छोडपुर्जी दिने गलत परम्परालाई न्यूनीकरण गर्न अभियान नै थालिएको उनको भनाइ छ । निकुञ्जभित्र काम गर्दा इआए र आइइ प्रतिवेदन तयार गरेर मात्र काम गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । निकुञ्ज क्षेत्रभित्र रहेका २४ गाउँको विकास गरी जनताको जीवनस्तर बदल्नुका साथै पर्यावरणको सन्तुलितरूपमा लैजान निकुञ्ज ऐनमा संशोधन तथा शे–फोक्सुण्डोको छुट्टै नियमावली, छुट्टै निर्देशिका अनि यार्सागुम्बा सङ्कलन निर्देशिका संशोधनको काम शुरु भएको छ ।

निकुञ्ज प्रवेश गरी अवैध क्रियाकलाप गर्ने ८० भन्दा बढी व्यक्तिलाई पक्राउ गरी नियमानुसार रु ४० लाखभन्दा बढी धरौटी माग गरी चोरी शिकारी नियन्त्रण गर्न सक्रियता बढाएको निकुञ्जले जानकारी दिएको छ । सेटेलाइटमार्फत निकुञ्जमा रहेका हिउँ चितुवाको अध्ययन कार्य जारी छ । चोरी निकासी रोक्नका लागि यो पहलकदमी जारी छ । तीन सय क्यामेरा राखेर हिउँ चितुवालगायतका दुर्लभ वन्यजन्तुको अध्ययन अघिल्लो वर्षदेखि शुरु भएको छ । हिउँ चितुवाको मुख्य आहाराको रूपमा रहेको नाउर गणनाको काम प्रत्येक वर्षझैं यो वर्ष पनि निकुञ्जले गरेको छ ।

डोल्पामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सघाउ पुर्याउनका लागि डोल्पामा गठित शे–फोक्सुण्डो पर्यटन समन्वय समितिलाई पर्यटन र संरक्षण कार्यलाई सन्तुलित र समन्वयात्मक भावनाको विकासमा जोड दिई सहकार्यका साथ कार्य अगाडि बढेको छ । विसं २०४० देखि हुन नसकेका काम अहिले एकैपटक डोल्पाका जनसाधारणको भावनासमेत समेटेर काम हुँदा सर्वसाधारण खुशी छन् । निकुञ्जको संरक्षण र सर्वसाधारणको भावना सम्बोधनको क्रम बढेपछि डोल्पामा भर्खरै मात्र प्राकृतिक स्रोत समितिको सांसदीय टोली पुगेर स्थलगत अनुगमन गरी छलफलसमेत गरेको छ । स्थानीयवासीको कुरा जस्ताको तस्तै टिपोट गरी सरोकारवालासँग कार्यान्वयनका लागि पहलकदमी लिने बताएको छ ।हेमन्त केसी/रासस

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top