२१ पौष, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अल्पमतमा परिसकेका प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नहुने बताएका छन्।
आज जसपाले काठमाडौंमा गरेको अन्तर्क्रिरयामा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध ८६ जनाभन्दा बढी सांसदले हस्ताक्षर गरेकोले अल्पमतमा परिसकेका प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नमिल्ने बताएका छन्।
‘अल्पमतमा परिसकेको प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार हुँदैन,’ उनले भने, ‘प्रधानमन्त्रीविरूद्ध ८६ जनाभन्दा बढी सांसदले हस्ताक्षर नै गरेका थिए। उहाँ अल्पमतमा परिसक्नुभएको अवस्थामा प्रतिनिधिसभा भंग गर्नुभयो। यसो गर्न मिल्दैन।’
उनले प्रतिनिधिसभा भंग गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदमलाई खारेज गर्नुपर्ने बताएका छन्।
‘नेकपा अब एकजुट रहन सक्ने अवस्था न्युन छ। प्रधानमन्त्री ओलीको दलले प्रतिनिधि सभा भंग जायज देखाउन उचित र अनुचित काम गर्ने देखिएकै छ,’ अध्यक्ष यादवले भने।
उनले प्रतिनिधि सभा अहिले पनि ज्युँदै रहेको बताए। ‘सभामुखले बैठक बोलाएर कामकारवाही गर्न सक्नुहुन्छ,’ उनले भने, ‘संसद अहिले पनि ज्युँदै छ।’
उनले सभामुखले बैठक बोलाउनेबारे ठोस निर्णय लिनु पर्ने पनि बताएका छन्।