२२ पुस, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपश्चात् पहिलो पटक उपत्यका बाहिरका कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् ।
मोफसलका कार्यकर्तालाई सम्बोधन गर्न उनी सुदूरपश्चिम जाँदैछन् । त्यहाँ हुने भनिएको आमसभाका लागि व्यापक सुरक्षा तयारी गरिएको छ । पुस २४ मा नेकपा ओली समूहले धनगढीमा आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्न त्यता जान लागेका प्रधानमन्त्री तथा आमसभाको सुरक्षाका लागि करिब एक हजारको हाराहारीमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिने बताइएको छ ।
झण्डै एक सयको हाराहारीमा सादा पोशाकमा प्रहरी खटिनेछन् । जिल्ला सुरक्षा समिति कैलालीले प्रधानमन्त्रीको सुरक्षा तथा आमसभा स्थलमा अप्रिय घटना हुन नदिन रणनीति बनाउदै छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले प्रधानमन्त्री ओलीको सुरक्षाका लागि व्यापक सुरक्षा तयारी गरिएको र थप आवश्यक रणनीति बनाउन आज सुरक्षा समितिको बैठक बस्ने बताए ।
आमसभास्थल वरीपरी तथा प्रधानमन्त्री ओली आवात जावत गर्ने सडकमा कुनै पनि किसिमको बिरोध तथा अवरोध गर्न नदिन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको उच्च सुरक्षा अधिकारीले बताए ।
स्रोतका अनुसार आमसभा स्थल तथा प्रधानमन्त्री आवात जावत गर्ने सडक क्षेत्रमा कालो व्यानर, कालो मास्क र कालोझण्डामा प्रतिबन्ध लगाइनेछ ।
नेकपा विभाजनपछि पहिलो पटक उपत्यका बाहिर प्रधानमन्त्री ओली सहभागी हुने आमसभामा नेकपा प्रचण्ड–नेपाल समूहले बिरोध तथा अबरोध गर्ने जानकारी पाएपछि सुरक्षा निकाय हाई अलर्ट भएको स्रोतले बताएको छ ।