२३ पुस, काठमाडौँ ।
वाग्मती सफाइ अभियान चार सयौँ हप्ता पुगेको अवसरमा वाग्मती नदीमा परीक्षणका लागि माछाका भुराहरू छोडिने भएको छ ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले आज काठमाडाँैमा पत्रकार सम्मेलन गरी सफाइ अभियानको चार सयौँ हप्ता पुगेको अवसरमा यही पौष २५ गते शनिबार नदीमा माछाका भुरा छोड्ने लगायतका विभिन्न कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो ।
वाग्मतीको पानीको स्वच्छता अध्ययनका लागि सुन्दरी जलदेखि ४ सय जति माछाका भुरा छोड्न लागेको समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
समितिको अध्ययनमा गोकर्णको तल्लो भागसम्म नदीमा माछा लगायतका जीव बाच्न सक्ने अवस्था देखिएको र त्यसको परीक्षणका लागि माछाका भुरा छोड्न लागेको अध्यक्ष तिमिल्सिनाले बताए।
यसै गरी अभियानको चार सयौँ हप्ताका अवसरमा सरसफाइ सम्बन्धी जनचेतना फैलाउन उपत्यका प्रवेश गर्ने सबै नाकामा पर्चा वितरण गर्ने, विभिन्न स्थानमा नदी सरसफाइ गर्ने तथा मिनभवनमा विशेष समारोहको आयोजना गर्ने लगायतका कार्यक्रमहरू तय भएको समितिले जनाएको छ ।