२५ पुष, काठमाडौं । राष्ट्रियतासँग जोडिएका मुद्दालाई लिएर आफ्नै पार्टी र पार्टीले नेतृत्व गरेको सरकारमाथि एकपछि अर्काे हमला गर्ने नेकपाका नेता भीम रावलमाथि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले हमला गरिरहेका छन् ।
तत्कालीन नेकपा एमालेमा माधवकुमार नेपालको पक्षमा रहेका रावलले महाधिवेशनमा ओलीलाई हराउन महत्वपूर्ण भूमिका खेलेका थिए । तर उनी सफल भएनन् । अहिले नेकपा विभाजनपछि दाहाल–नेपाल समूहमा रहेका रावलमाथि ओलीले निरन्तर आलोचनात्मक प्रहार गरिरहेका छन् । अनेरास्ववियुको कार्यकर्ता भेलामा ओलीले, आफ्नो शरीरमा स्त्रीको अङ्ग मिसिएको हुँदा दिमागले काम गरेन भनी रावलले टिप्प्णी गरेको आरोप लगाउँदै ओलीले महिलाको अपमान गरेको भनि आलोचना गरे ।
रावलले ओलीमाति कटाक्ष गर्दै ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुँदा दिमागले काम गरेन भन्ने अभिब्यक्ति दिएको भन्दै केही संचारमाध्यामले समाचार प्रशारण गरेपछि ओलीको यस्तो टिप्पणी आएको हो । यद्यपी रावलले त्यस्तो टिप्पणी आफूले नगरेको दावी गरेका छन् । पार्टी भित्रको प्रतिपक्षीको रुपमा रहेका रावलमाथि ओलीले शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा समेत खिसिट्युरी गर्न भ्याए । रावलको गृहक्षेत्र सुदूरपश्चिममा पुगेका उनले रावलतर्फ संकेत गर्दै रावल मन्त्री बन्न नपाएर छटपटिएको टिप्पणी गरे । सोही कार्यक्रममा नेकपाको दाहाल–नेपाल समूहलाई भगौडाको संज्ञा दिएका ओलीलाई जवाफ फर्काउँदै काठमाडौँमा आयोजित कार्यक्रममा रावलले ओली नै भगौडा भएको आरोप लगाए । पुष २२ गते बुधबार बसेको नेकपा केपी ओली समूहले सुदूरपश्चिम प्रदेश कमिटी विस्तार गर्दै रावलले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामीना गरेको आरोप लगाएर कारबाहीको सिफारिस समेत गरेको थियो । यसअघि एमसीसीको चर्को विरोधमा उत्रिने नेता रावल पनि एक थिए । यस्तै ओलीले वालुवाटारमा मध्यरातमा विदेशी गुप्तचर प्रमुखसँग भेट गरेको विषयमा रावलले चर्को विरोध गरेका थिए । नेकपा अध्यक्ष ओलीले सरकारको नेतृत्व गरेदेखि नै रावल प्रधानमन्त्री ओलीको विरोधमा उत्रिएका थिए । सरकारका काम कारबाहीप्रति पार्टी भित्र र बाहिर तिब्र आलोचना गर्ने नेता मध्येमा उनि पर्छन । यसअघि एउटा धर्म प्रचारक संस्थाले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सरकार सहआयोजक बन्यो । त्यसको चौतर्फ विरोध गर्नेमा बुलन्द स्वर रावलको पनि थियो । विखण्डनकारी अभियानको नेतृत्व गरिरहेको सिके राउतको समूहलाई मूल धारको राजनीतिकमा ल्याउने ओलीको प्रयासमा उनले विधि र सम्झौताको व्यहोरामा प्रश्न उठाए । यस्तै विदेशी बुहारी र ज्वाइँलाई नागरिकता दिने प्रवाधान खुकुलो बनाउन नहुने अडानमा उनि देखिँदै आएका छन् । नेपालमा आयोजना गर्न लागिएको भारतीय फिल्म अवार्ड आइफा अवार्डको तिब्र विरोध गर्नेमा रावल पनि थिए । सरकारले नै एक अर्ब रुपैयाँ खर्चेर नेपालमा आयोजना गर्न लागिएको सो कार्यक्रमको सर्वत्र विरोध भएपछि रद्ध गरिएको थियो । यस्तै नेकपा विवाद समाधानमा राष्ट्रपति विद्यादेवी भण्डारीले देखाएको सक्रियताको समेत उनले विरोध गर्ने गरेका छन् । यस्तै ललिता निवास प्रकरणमा, राष्ट्रिय जनता पार्टीसँग अपारदर्शी ढंगले राष्ट्रियसभा चुनावका लागि गठवन्धन गरिएको विषय लगायतमा पार्टी भित्रै प्रतिपक्षको जस्तो भूमिकामा देखिने गरेका रावलका फरक मतहरुमा आउने गरेका छन् । पार्टी नेतृत्वको सरकारका कामकारबाहीमा प्रतिपक्षीले भन्दा बढि आलोचना गर्ने रावलमाथि अहिले भने प्रधानमन्त्री ओलीले उनकै गृहक्षेत्रमै पुगेर घोचपेच गरेका छन् । सुदूरपश्चिमको सार्वजनिक कार्यक्रममा ओलीले घोचपेच गर्ने यता केहिसमयमै काठमाडौंको कार्यक्रममा रावलले जवाफ फर्काएका छन् । खासगरी राष्ट्रियतासँग जोडिएका मुद्धाहरुमा ओली नेतृत्वको सरकारमाथि हमला गर्ने रावल र भारत विरोधी राष्ट्रवादीको छवि बनाएका भनिएका प्रधानमन्त्री ओलीबीचको टकराव अहिले रोचक देखिएको छ ।