प्रमुख निर्वाचन आयुक्तद्वारा निर्वाचनको वातावरण बनाउन आग्रह

काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुरानो र नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर निर्वाचनको उत्कृष्ट वातावरण बढाउन सबै सञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ ।

Advertisement

उहाँले निर्वाचनमा सरकारी स्वामित्वका सञ्चार माध्यमको राष्ट्रिय दायित्व अन्य सञ्चार माध्यमको भन्दा बढी रहेकाले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाउन पनि जोड दिनुभएको छ ।

उहाँले निर्वाचनका लागि आयोगले आफ्नो तयारीलाई तीव्र बनाएको चर्चा गर्दै सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यमको सहयोगबाट निर्वाचनको उपयुक्त वातावरण तयार गर्न सञ्चार माध्यमको ठूलो भूमिका रहेको बताउनुभयो । उहाँले आफ्नो पेसागत दक्षता र सीपलाई प्रयोग गरेर देशलाई निर्वाचनमय बनाउन सरकारी स्वामित्वका सञ्चार माध्यम स्वतन्त्र रहेको पनि स्पष्ट पार्नुभयो ।

Advertisement

सरकारी स्वामित्वका सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधिहरूले आइतबार प्रमुख निर्वाचन आयुक्त थपलिया र आयोगका सचिव देवकुमारी गुरागाईंलाई आ–आफ्नो संस्थाले गरेको तयारीबारे जानकारी गराउनुभएको थियो ।

सञ्चार माध्यमका प्रमुखहरूले आकस्मिक रूपमा निर्वाचनमा जानु परेको र ठूलो जनशक्ति तथा अत्याधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने भएकाले स्रोत साधन जुटाइदिन आयोगसँग अनुरोध पनि गर्नुभयो ।

Advertisement

उहाँहरूको भनाइपछि प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनमा स्रोत साधनको कमी हुन नदिनेतर्फ आयोगले पहल गर्ने वचन दिनुभयो । साथै उहाँले निजी क्षेत्रका सञ्चार माध्यमसँग पनि कसरी सहकार्य गर्ने भनेर आयोगले अध्ययन गर्दै रहेकाले निर्वाचनलाई महोत्सवका रूपमा सबै सञ्चार माध्यमले लिनुपर्ने भनाइ राख्नुभयो ।

प्रमुख आयुक्त थपलियाले यस आर्थिक वर्षमा विनियोजित बजेटबाट फागुन मसान्तअगावै निर्वाचन कार्यक्रमलाई सहज हुने गरी विनियोजित बजेट कार्यक्रम कार्यान्वयन गर्नसमेत निर्देशन दिनुभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गोरखापत्र संस्थान, सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, रेडियो नेपाल, नेपाल टेलिभिजन, नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय समाचार समितिका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता थियो ।

बैठकमा उपस्थित सञ्चार माध्यमका प्रमुख एवं प्रतिनिधिहरूले निर्वाचनसम्बन्धी विषयलाई प्राथमिकताका साथ सम्प्रेषण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो , यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top