२७ पुस, काठमाडौँ ।
भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका छन् । सुधीरले आइतबार बालुवाटार पुगेर ओलीको अन्तर्वार्ता लिएका हुन् । अन्तर्वार्ता आज बेलुका ९ बजे प्रसारण हुनेछ ।
प्रधानमन्त्री ओलीसँगको कुराकानीपछि सुधीरले फेसबुकमा लेखेका छन्, ‘छिमेकमा के चलिरहेको छ भनेर थाहा पाउनु महत्त्वपूर्ण हो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग राम्रो कुराकानी भयो । अब नेपालले भारतलाई किन ठूल्दाजुका रुपमा व्यवहार गर्न चाहँदैन भन्ने बारेमा पनि कुरा भयो ।’
जी न्युजले पटक–पटक नेपालका बारेमा विवादित सामग्री प्रसारण गर्दैै आएको छ । नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि जी न्युजलगायतले विवादित सामग्री प्रकाशित गरेका थिए । जी न्युजले ‘राष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर कार्यक्रम प्रसारण गरेको थियो । जुन कार्यक्रम सुधीरले नै सञ्चालन गरेका थिए ।

यसअघि असारमा जी न्युजको बिहार झारखण्ड संस्करणमा नेपालमा चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको भन्दै ‘ओलीकी इस्किँया’ भनेर विवादित सामग्री प्रसारण गरेको थियो । पछि च्यानलले माफी माग्दै सामग्री हटाएको भन्दै भिडियो बाहिरिएको थियो । तर जी न्युजको आधिकारिक च्यानलमा भने उक्त भिडियो भने भेटिएको थिएन ।
त्यस्तै प्रधानसम्पादक सुधीर चौधरीले पनि नेपालबारे विवादित ट्वीट गरेका थिए ।