आफूले बनाएको कोरोना खोपले कम्तीमा एक वर्षका लागि काम गर्ने मोडर्नाको दाबी

२८ पौष, काठमाडौं । बायोटेक्नोलोजी कम्पनी मोडर्नाले आफूले बनाएको कोरोना खोपले कम्तीमा एक वर्षका लागि काम गर्ने बताएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन(एफडीए)ले आपत्कालीन प्रयोगका लागि अनुमति दिएका दुईवटा कोरोना खोपमध्ये मोडर्ना पनि एक हो ।

Advertisement

एफडीएले मोडर्नासँगै फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना खोपलाई पनि अनुमति दिएको छ ।

‘हाम्रो आशा खोपले कम्तीमा एक वर्षका लागि काम गर्छ भन्ने हो,’ सोमबार जेपी मोर्गन हेल्थकेयर कन्फरेन्समा मोडर्नाका प्रमुख मेडिकल अधिकृत ताल जाक्सले भने । यदि खोपको बुस्टका रुपमा तेस्रो डोज दिनुपरेमा पनि त्यसबारेमा तयारी गर्ने उनले बताए । अहिले एक महिनाको अन्तरालमा खोपको दुई डोज दिइने गरेको छ । केही महिनाअघि मात्रै विकास गरिएकाले पनि यी खोपले कति समयसम्म काम गर्छ भनेर चिकित्सकहरुले यकिन गर्न सकेका छैन ।

Advertisement

त्यस्तै कम्पनीले एमआरएनए प्रविधिमा बनाइएको खोप केही देशमा फैलिएको नयाँ स्वरूपको कोरोना भाइरसविरुद्ध पनि काम गर्ने दाबी गरेको छ । मोडर्नाले डिसेम्बरमै कोरोनाका जुनसुकै स्वरूपमा पनि आफूले ट्रायल गर्ने बताएको थियो ।

कम्पनीले सन् २०२१ मा करिब एक अर्ब डोज खोप उत्पादन गर्ने बताएको छ । मोडर्नाले अमेरिकासहित क्यानडा र इजरायलमा पनि प्रयोगका लागि अनुमति पाएको छ । इजरायलले पहिलो चरणमा ६० लाख डोज अर्डर गरेको छ ।

Advertisement

मोडर्नाको कोरोना खोपलाई पहिलो पटक डिसेम्बर १८ मा अमेरिकाले प्रयोगका लागि अनुमति दिएको थियो । त्यसपछि डिसेम्बर २३ मा क्यानडाले मोडर्नाको खोपलाई अनुमति दिएको थियो । युरोपेली युनियन, सिंगापुर, स्विजरल्यान्डका साथै बेलायतलमा पनि यसको प्रयोगका लागि समीक्षा भइरहेको छ ।

करिब ३० हजार जनामा चिकित्सकीय परीक्षण गरिएको मोडर्नाको कारोना खोपको प्रभावकारिता ९४.५ प्रतिशत देखिएको थियो । यसको एक मात्राको २५ देखि ३७ अमेरिकी डलरसम्म पर्ने बताइएको छ । मोर्डनाको कोरोना खोप भण्डारण र ओसारपसार गर्नका लागि कम्तीमा माइनस २० डिग्री सेल्सियस तापक्रम चाहिने बताइएको छ । उक्त तापक्रममा ६ महिनासम्म कोरोना खोप सुरक्षित रहनेछ ।

यसैबीच विभिन्‍न कोरोना खोपहरू विकास भइरहे पनि सन् २०२१ मा सामूहिक प्रतिरक्षा (हर्ड इम्युनिटी) को विकास नहुने डब्लूएचओले जनाएको छ । सबैभन्दा पहिले बेलायतबाट सुरु भएको कोरोना खोप कार्यक्रम अहिले विश्वका करिब ३० देशमा चलिरहेको छ ।

’सन् २०२१ मा हामीले कुनै पनि तहमा जानसांख्यिक प्रतिरक्षा र सामूहिक प्रतिरक्षा हासिल गर्न सक्दैनौं,’ डब्लूएचओकी प्रमुख वैज्ञानिक सौम्य स्वामिनाथनले जेनेभामा सोमबार आयोजति पत्रकार सम्मलेनमा भनिन्, ’यदि विश्वका केही देशका केही भागमा यस्तो सफलता हात परे पनि यसले विश्वका सबै नागरिकको प्रतिरक्षा भने गर्न सक्दैन ।’

स्वामिनाथनले सरकारहरू र नागरिकलाई भौतिक दूरी कायम गर्न, मास्क लगाउन र नियमित रुपमा हात धुने कुरालाई निरन्तरता दिन पनि जोड दिइन् । कान्तिपुर दैनिकबाट साभार ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top