५ माघ, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारको दुरुपयोग गरेकाले प्रधानमन्त्रीको पदमा बस्न लायक नरहेको बताएका छन् ।
काठमाडौँमा आयोजित आफु पक्षधर अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको रुपमा अधिकारको दुरुपयोग गरेकाले पदमा बस्न लायक नभएको बताएका हुन् ।
अध्यक्षको कर्तव्य पालना नगरेका कारण पार्टी अध्यक्षको रुपमा पनि बस्न लायक नरहेको उनको भनाई छ । अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले संकटकाल लगाएर अथवा अन्य असंवैधानिक कदम चालेरै भएपनि ५ वर्ष प्रधानमन्त्री बन्न चाहेको उल्लेख गर्दै ओलीले चुनाव नगराउने बताए।
अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिनेगरी अघि बढ्ने बताए । देशको प्रगतिको लागि आन्दोलनका विकल्प नभएकोले आन्दोलनको ज्वारभाटा सृष्टि गर्ने उनको भनाई छ ।
उनले पार्टीको आधिकारिकता र सुर्य चिन्ह कसैले खोस्न नसक्ने दाबी गरे । केपी शर्मा ओलीले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरेर अस्ताउँदो सुर्य चुनाव चिन्ह लिएको जिकिर गर्दै उनले केही ओलीको त्यही चुनाव चिन्ह हुने र आफुहरुको सुर्य चिन्ह कसैले खोस्न नसक्ने बताए ।