७ माघ, महोत्तरी ।
लगातारको बाक्लो हुस्सु र तुसारोले तरकारी बालीको उत्पादन लिन नपाइने चिन्ताले महोत्तरीका तरकारी किसान हैरान भएका छन् ।
पुस अन्तिम सातादेखि लगातार बढेको बाक्लो हुस्सुसँगैको तुसारोले हरियो तरकारीको बेलो सुकाउनसँगै रोग बढाएपछि यहाँका किसानको हैरानी बढेको हो । पछिल्लोपटक गत पुस २७ गतेयता गत आइतबार मध्याह्नपछि र सोमबार मात्र घाम देखिएको थियो ।
त्यसपछि फेरि बाक्लो हुस्सुसँगै तुसारो बढेपछि तरकारीबालीको स्याहार केही गर्न नपाइएको यहाँका किसानले बताएका छन् ।
“खेतबारीमा बोट नै नदेखिने गरी तुसारो छ, लगातारको शीतलहरले बोट पहेँलिएका छन्, फल आफैँ कुहिएर झर्दैछ”, मौसमका कारण तरकारीको स्याहार र उपचार पनि गर्न नपाएको चिन्ताले बिरक्तिएका बर्दिवास नगरपालिका–९ पशुपतिनगरका तरकारी किसान रामविनोद महतोले भने, “आँखाभरि बिजोग हेरेर बस्नुपरेको छ, अब उत्पादन हात पर्ने आस मर्यो ।”
परवल, सिमी, करेला र बोडीसहितका बेला (लहरा) आफैँ पहेँलिएका र भण्टा, कोभी, टमाटरसहितका बोट क्रक्रिएर फल कालो हुँदै कुहिएर झर्ने गरेको किसान बताउँछन् ।
झारले तरकारीका बोट छोपिसक्दा पनि मौसमको प्रतिकूलताले गोडमेल गर्न नपाइएको र उपचारले काम नगरेको रामविनोदकै छिमेकी अर्का तरकारी किसान जवाहर महतो बताउँछन् । “हेर्नोस् न, उ टमाटर कुहिएर बग्रेल्ती झरेका”, टमाटर बारीतिर देखाउँदै जवाहरले भने, “मौसम उघ्रेर घाम नलागी न बारी पस्न सकिन्छ, न उपचार नै काम लाग्छ ।”
यसपालि मङ्सिर अन्तिम सातामै शुरु भएको शीतलहर पुस मध्यताका हटे पनि पुसकै अन्तिम सातामा फेरि बढेको हो । माघ लागेपछि बाक्लो हुस्सु र तुसारो पर्ने क्रम रोकिने आस पनि पहिलो साता बित्दासम्म पूरा हुने छाँट नदेखिएको किसान अड्कल गर्छन् ।
“आइतबार दिउँसो घाम देखिँदा अबचाहिँ उघ्य्रो भन्ने परेको थियो, सोमबार त बिहानै घाम देखियो पनि” भङ्गाहा नगरपालिका–४ का किसान चन्देश्वर राय दनुवार भन्छन्, “हामीले सोचेकोजस्तो किन हुन्थ्यो, सोमबार साँझैदेखि फेरि बाक्लो हुस्सुले ढाकिहाल्यो ।”
बाक्लो हुस्सु, चिसो स्याँठ र तुसारोले गलाएको तरकारीको बोट जति उपचार गरे पनि ठिक नभएको किसानको गुनासो छ । “भरसक्दो त उपचार गरियो नि” दनुवारकै छिमेकी किसान बहुरा महतोले भने, “तरकारी खेती त गयो गयो, उपचार गर्दा गरिएको खर्चको ऋणमा समेत परियो ।”
यस्तो चिन्ताबीच सरकारी निकायका कुनै कृषि प्राविधिक सल्लाह, सुझाव र सहानुभूतिकै लागि पनि नभेटिएका किसानको थप गुनासो छ । “खै कृषि हेर्ने सरकारी अड्डा त छन् भन्छन्, हाम्रो दुःख कसले बुझ्ने ? कोही हामीलाई हेर्न आउँदैनन्”, महतोले भने ।
हिउँदे तरकारीका बोटले लामो समयसम्म घामको ताप नपाउँदा उपचार नलागेको कृषि विज्ञको भनाइ छ । “दुइ÷चार दिनको अघिपछि घाम देखिएको भए उपचार लाग्ने थियो, यहाँ त झण्डै बाक्लो तुसारो परिरहेको १५ दिन हुन लाग्यो” ।
लामो समय कृषि विज्ञको सरकारी सेवा (सहसचिव) मा रही हाल सेवानिवृत्त भएका भङ्गाहा–५ कै बासिन्दा रामबहादुर भुजेल किसानकै भनाइमा लय मिलाउँदै भन्छन्, “लगातार बाक्लो हुस्सु, चिसो स्याँठ र तुसारो पर्ने क्रम रोकिएन, उपचारका लागि गरिएको प्रयत्न त्यति फलदायी भएन ।”
जिल्लाका बर्दिवास नगरपालिकाका पशुपतिनगर, बिजलपुरा, भङ्गाहा नगरपालिकाका रामनगर, राजपुर, हतिसर्वा, बलवा नगरपालिकाका धमौरा, बनौटा, गौशाला नगरपालिकाका बेलगाछी, लक्ष्मीनियाँ र भरतपुरलगायतका बस्ती तरकारी बालीका पकेट क्षेत्र मानिन्छन् ।
यी बस्तीमा पाँच हजार हेक्टरभन्दा बढी जग्गामा तरकारी खेती लगाइने गरिन्छ तर प्राकृतिक प्रकोपको निदान र खेतबारीमा सिँचाइको प्रबन्ध नहुँदा कहिल्यै ठिक समयमा बाली लगाउन, रोगको निदान एवं उपचार गर्न नसक्दा अपेक्षित उत्पादन लिन नसकिएको तरकारी किसान दुखेसो छ ।
आपूmहरुको यो मर्का सरकार र सम्बद्ध दलहरुले बुझिदिनुपर्ने किसानको माग छ । कहिल्यै समयमा बीउबिजन र मल नपाउने, सिँचाइको प्रबन्ध नहुनु, रोगव्याधि र प्राकृतिक प्रकोप निदानको पूर्वतयारी र विज्ञको अवलोकन नहुँदा आफुहरुको खेती ‘दैवकै भर’ हुने गरेको किसान बताउँछन् ।(रासस)
