१२ माघ, एजेन्सी ।
रुसी राष्ट्रपतिका कडा आलोचक तथा विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा प्रदर्शनका लागि पश्चिमा देशहरुले उक्साएको आरोप रुसले लगाएको छ ।
गएको शनिबार नाभाल्नीका दशौँ हजार समर्थकले रुसका एक सय भन्दा बढि शहरमा प्रदर्शन गरेका थिए । प्रहरीले ३५ सय भन्दा प्रदर्शनकारीलाई पक्राउ गरेको अनुगमनकर्ताले बताएका छन् ।
राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले भने प्रदर्शनमा सीमित व्यक्तिको मात्रै सहभागिता भएको दाबी गरेको छ । प्रदर्शनकारीमाथिको ज्यादतीलाई लिएर रुसमाथि प्रतिबन्धात्मक उपायहरु अपनाउन युरोपियन युनियन (इयू) माथि दबाब परिरहेको छ ।
रुसी सत्ताले प्रदर्शनकारीमाथि कठोर रणनीति लिएको आरोप अमेरिकाको छ । शनिबार भएको प्रदर्शनको क्रममा दंगा प्रहरीले प्रदर्शनकारीलाई पिटेको देखिएको थियो ।
पाँच महिना पहिले विष दिएर हत्या प्रयास गरिएको विपक्षी नेता नाभाल्नी जर्मनीमा उपचार पछि रुस फर्किए लगत्तै गएको हप्ता पक्राउ परेका थिए । उनको रिहाइको माग गर्दै रुसमा प्रदर्शन हुँदै आएको छ ।