१३ माघ, काठमाडौँ ।
दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक संजालमा आएपछि भाइरल भएका कैलालीका अर्जुन बिक जबरजस्ती करणी, अपहरण र शरीर बन्धकका अभियोगमा पक्राउ परेका छन् । उनलाई काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेर कैलाली ल्याइएको हो ।
१३ वर्षमा बिहे गरेर १५ वर्षमा छोरा जन्माएकी श्रीमती पोइला गएको भन्दै झुटो खबर बताएर सामाजिक संजाल र युट्युबमा भाइरल भएपछि अर्जुनले आधा दर्जनभन्दा धेरै म्युजिक भिडियोमा खेल्ने मौका पाएका थिए ।
अदालतले पक्राउ पुर्जी जारी गरेपछि गत ८ गते अर्जुनलाई काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेर कैलाली ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
अर्जुनविरुद्ध गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा अभियोग दर्ता भएको थियो । उक्त अभियोगपत्रमा अर्जुनले २०७३ जेठ ३० देखि २०७७ साउन १५ गतेसम्म बन्धक बनाएर राखेको र बलात्कार गरिएको उल्लेख छ ।
पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।