म्याग्दीको कुहुँमा १७ औँ शताब्दीको सुरुङमार्ग

२२ जेठ ७५, मंगलबार
Share this
730shares

म्याग्दी, जेठ २२
म्याग्दीको मंगला गाउँपालिका–१, कुहूँको शिरानमा कुहुँ मालिका मन्दिर नजिकै रहेको १७ औँ शताब्दीको ऐतिहासिक सुरुङमार्ग भेटिएको छ ।

Advertisement

जिल्लाकै सबैभन्दा पुरानो सुरुङमार्ग भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा सो सुरुङमार्ग ओझेलमा परेको छ । बाइसे÷चौबिसे राज्यअन्तर्गत तत्कालीन समयमा शक्तिशाली मानिएका राजा डिम्ब मल्लले शत्रुसँग सुरक्षित रहन प्रयोग गर्ने गरेको सो सुरुङमार्गको प्रचारप्रसार गरी आवश्यक पूर्वाधारको निर्माण गर्ने हो भने इतिहासका अध्येता र पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बन्न सक्ने प्रशस्तै सम्भावना रहेको छ ।

म्याग्दीको प्रशिद्ध पर्यटकीय एवं धार्मिकस्थल मालिकाको धुरी जाने बाटोमा पर्ने सो सुरुङमार्गको लम्बाइ करीब ५० मिटर रहेको छ । पूर्व–पश्चिम फैलिएको सो सुरुङमार्गको पूर्वतिरबाट प्रवेश गरेर पश्चिमतर्फ ५० मिटरको दूरीमा रहेको मालिका मन्दिरमा निस्कन सकिने स्थानीय बुद्धिजीवी एवं शिक्षक भद्रबहादुर जिसीले बताए ।

Advertisement

गुफाको पूर्वतर्फ करीब ७० मिटरको दूरीमा तत्कालीन कुहँुले राजाको राजधानी रहेको थुमाको अवशेष मात्र बाँकी रहेको छ । गाउँको शिरानमा उच्च स्थानको समथर मैदानमा राजधानी थुमामा काजिला (सानो दरबार) बनाएर तत्कालीन राजा बस्ने गर्दथे ।

सुरुङ रहेको स्थानको पूर्वतर्फबाट तामाको सिक्का खसाल्ने हो भने त्यो सिक्का बजेको आवाज तीन मिनेटसम्म सुन्न सकिने जिसीले बताए । सुरुङ रहेको पहराको शिरानबाट म्याग्दीका अधिकांश गाउँ, हिमशृंखला र वनजंगलको मनमोहक दृश्य देखिन्छ ।

Advertisement

स्थानीय समाजसेवी क्याप्टेन केशरबहादुर घर्तीका अनुसार सो सुरुङको प्रवेशभाग मालिका मन्दिरको छेउबाट कुखुराको भाले भित्र छिराउने हो भने हालको बेनी नगरपालिका–४, सिंगा तातोपानीमा रहेको प्राकृतिक चिकित्सालय तातोपानी कुण्डको छेउमा रहेको ओढारबाट निस्कने गरेको किंवदन्ती रहेको छ ।

सो सुरुङको भित्रितर्फको मध्यभाग दुई तिर फैलिएको छ । पूर्व–पश्चिम सिधा मार्ग रहेको छ भने सुरुङभित्र तलतिर जाने ओढार पनि रहेको क्याप्टेन घर्तीले बताए । “सो ओढारबाट तलतिर जाने अर्को सुरुङ रहेको छ, त्यहाँबाट छिरेको चिज तातोपानी कुण्डको नजिकै रहेको गुफामा निस्कने हुनुपर्छ” क्याप्टेन घर्तीले भने ।

सुरुङको प्रचारप्रसार गरी त्यसको ऐतिहासिक महत्वका बारेमा बुझाउन र देखाउन सक्ने हो भने सो स्थान म्याग्दीको आकर्षक ऐतिहासिक विरासत बोकेको पर्यटकीय स्थान हुनसक्ने सुरुङ अवलोकनका लागि त्यहाँ पुगेका गैरसरकारी संस्था मिलन म्याग्दीका उपाध्यक्ष शिव बानियाँले बताए ।

यस विषयमा इतिहासका अध्येता एवं त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कर्णबहादुर बानियाँले चौबिसे राज्यअन्तर्गत कुहुँमा तत्कालीन समयमा कुनै पनि राजाले राज्य गरेको प्रमाण फेला नपरेको बताएका छन् ।

मगर जातिका तीन मगर — ढुट, काइसे र खाम गरी तीनवटा भाषा प्रचलनमा रहेका बताउँदै बानियाँले म्याग्दीको कुहुँका मगरले खाम भाषा बोल्ने गरेका र अहिले त्यहाँ खाम भाषा लोप भइसकेकाले त्यस क्षेत्रको इतिहासका बारेमा धेरैकुरा बाहिर आउन नसकेको जानकारी दिए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top