१६ माघ, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अभिमतविरुद्ध फैसला गर्न नसक्ने भन्दै अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् । प्रतिनिधि सधा विघटनको विरोधमा नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं. ६ काठमाडौँले शुक्रबार शान्ति बाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिटौलाले अदालतले आम जनताको भरोसा र आशा जुटाउने अवसर पाएको भन्दै अवसरको सदुपयोग गरिनुपर्ने बताए ।
उनले अदालतले आफ्नो क्षमता प्रकट गरेर संविधानको रक्षा गर्न सक्छ भनेर जनतालाई सन्देश दिने सुनौलो अवसर पाएको पनि बताए । प्रधानमन्त्रीलाई मन लाग्दैमा संसद भंग गर्न नपाओस् भनेर संविधान निर्माणताका संविधानमा धारा ७६ को व्यवस्था गरिएको उनको भनाई छ । उनले प्रतिनिधि सभा विघटन गर्ने आफ्नो गल्ती स्वीकार गर्न आग्रह पनि गरे ।