१९ माघ, धनुषा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव एक दिन पनि पर नसर्ने बताएका छन् । धनुषाको ढल्केवरमा निर्माण भएको मुलुककै सबैभन्दा ठुलो तथा अत्याधुनिक विद्युत् प्रसारण लाइनको आज उद्घाटन गर्दै उनले चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेकाले धनुषामा वैशाख १७ गते नै चुनाव हुने दाबीसमेत गरे ।
ओलीले भने, ‘धनुषाको यो क्षेत्रमा वैशाख १७ गते नै चुनाव हुन्छ । चुनावको तयारीमा लागिहाल्नुस । तोकिएकै समयमा चुनाव हुन्छ । एकदिन पनि पर सर्दैन ।’
उनले आफूलाई मधेसविरोधी भनेर प्रचार गरिएकोमा पनि चित्त दुखाए । ‘केपी ओली मधेसीविरोधी हो भनेर कान–कानमा पुर्याएका होला । ती मधेसप्रेमी डोम, चमार र दुसाधको छोरालाई काँखमा राख्न सक्छ,’ प्रधानमन्त्री ओलीले भने,‘हेरु त कतिको मधेसीप्रेमी हो । केपी ओलीले नै मधेसमा बाटो, ढल र सिंचाइ बनाउँछ । तराईमा सिंचाइ गर्न पहाड छेडेर कोसी ल्याउँदैछौ ।’
प्रधानमन्त्री ओलीले राम्रा र नयाँ कामका लागि परम्परा तोड्नु नराम्रो नभएको पनि बताए । ‘पशुपतिमा १ सय ४१ किलोको सुनको जलहरी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले लेखे,’ उनले भने,‘चाँदीकै हाल्नुपर्थ्यो । सुनको हाल्नुहुन्न, परम्परा बिग्रिन्छ रे । म त्यस्तालाई सोध्न चाहन्छु, तपाईंको बुवा पण्डित तपाईँ किन पत्रकार हुनुभयो ? पण्डितै भएको भए पो परम्परा बाँच्थयो । मेरो बुवा प्रधानमन्त्री थिए र म प्रधानमन्त्री भएँ । नयाँ कामका लागि परम्परा भत्काउनुपर्छ ।’
प्रधानमन्त्रीले विगतमा आफूलाई सरकार तथा पार्टीमा राम्रो काम गर्न नदिनेहरू अहिले चोइटिएर गएको र यसले पार्टीमा कुनै असर नपरेको बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोप बहादुर रायमाझीले उज्यालो नेपाल अभियान पुरा गर्नका विद्युत् प्रसारण महत्त्वपूर्ण भएको बताउँदै नेपालमा बढी विद्युत् उत्पादन भएको खण्डमा भारत तथा बङ्गलादेशमा पनि यसैमार्फत बिद्युत् विक्री वितरण गर्न सकिने बताए ।
उनले मुलुकमा एक सेकेन्ड पनि विद्युत् नजाने गरी ऊर्जा क्षेत्रको विकासमा आधुनिक प्रविधिको प्रयोग गर्ने काम भइरहेको बताए। ऊर्जा क्षेत्रको विकासका लागि प्रसारण लाइनको विकास तथा विस्तार आवश्यक रहेको उनले औँल्याए ।
कार्यक्रममा मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो, ऊर्जा सचिव दिनेश कुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक जितेन्द्र देव शाक्यले ऊर्जा क्षेत्रको विकासका लागि प्रसारण लाइनको विकास तथा विस्तार आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा मिथिला नगरपालिकाले प्रधानमन्त्री ओलीलाई नगरबासीको तर्फबाट नागरिक अभिनन्दन समेत गरेको थियो । आज उद्घाटन भएको प्रसारण लाइनबाट नेपालबाट भारतमा र भारतबाट नेपालमा ९ सय ४५ मेगावाट विद्युत्को आदान प्रदान गर्न मिल्ने भएको छ ।
ढल्केवरमा नै निर्माण भइरहेको अन्य प्रसारण लाइनको काम जारी रहेको र सबैको निर्माण सकेपछि पूर्व र पश्चिम गरेर ४ हजार मेगावाट विद्युत्को प्रसारण गर्न मिल्ने पनि नेपाल बिद्युत् प्राधिकरणले जनाएको छ ।