५ फागुन, एजेन्सी ।
अमेरिकाको टेक्साससहितका दक्षिणी तथा मध्य क्षेत्रमा लगातारको हिमपात तथा हिमआँधीका कारण जनजीवन निकै प्रभावित भएको छ ।
द न्यूर्योक टाइम्सका अनुसार अत्याधिक चिसोका कारण अहिलेसम्म कम्तीमा २३ जनाको ज्यान गएको छ । हिमपात तथा हिम आँधीका कारण सबैभन्दा बढि टेक्सासको जनजीवन प्रभावित भएको छ ।

टेक्सासका ४० लाख भन्दा बढि मानिस विद्युत सेवाबाट वञ्चित भएका छन् । त्यहाँका कतिपय स्थानको तापक्रम माइनस १८ डिग्री सेल्सियससम्म झरेको छ । पानीको आपूर्तिमा समेत प्रभावित भएको छ ।
टेक्साससहितका क्षेत्रमा चिसो हावा चलेको छ भने बाक्लो हिउँ जमेको छ । यस्ते हिउँ पर्ने क्रम पनि जारी छ । अमेरिकको राष्ट्रिय मौसम सेवा (एनडब्लुएस) का अनुसार १५ करोड अमेरिकी हिम आँधीको जोखिममा रहेको बताएको छ ।
स्थानीय समय अनुसार मंगलबार अपराहन्नसम्म निधन भएको पुष्टि भएका कम्तीमा २३ जना टेक्सास, टेनिसी, केन्टकी, लुइजियानासहितका राज्यका हुन् । हिम आँधीको प्रभाव मेक्सिकोको मध्य क्षेत्रसम्म पनि पुगेको छ ।
सबैभन्दा बढि प्रभावित भएको टेक्सासमा आपतकालीन अवस्था लागु भएको छ । राष्ट्रपति जो बाइडेनले टेक्सासमा आपतकालीन अवस्था लागु गर्ने सम्बन्धी प्रस्ताव पास गरेका छन् ।
टेक्सासका बासिन्दाले पछिल्लो ३० वर्ष यताकै चिसो मौसमको सामना गरेका छन् ।