भरतपुर: जीवनभर भाडामा बस्दै आउनुभएका शिक्षक पशुपतिलाल कर्ण अचेल निकै खुसी हुनुहुन्छ ।
आफ्नै पूर्वविद्यार्थीले गुरुदक्षिणास्वरूप घर निर्माण गरिदिएपछि कर्णका आँखामा हर्षका आँसु टलमलाएका छन् । खल्तीबाट रुमाल झिकेर आँसु पुछ्दै उहाँले भन्नुभयो, “आज मेरो जीवनको सबैभन्दा खुसीको दिन हो । मैले मेरा शिष्यबाट गुरुदक्षिणा प्राप्त गरेँ ।”
कङ्काली माध्यमिक विद्यालयमा ३३ वर्षसम्म शिक्षक र प्रधानाध्यापक रहनुभएका कर्ण अहिलेसम्म डेरामा हुनुहुन्थ्यो । आफ्नै पूर्वविद्यार्थीबाट गुरुदक्षिणास्वरूप घर नै उपहार पाएपछि उहाँमा खुसीको सीमा छैन । उहाँले भन्नुभयो, “यो उपहार मेरा लागि अमूल्य छ ।”
२०३६ सालदेखि २०६८ असोजसम्म शिक्षण पेसामा रहनुभएका कर्णले अवकाश लिए पनि उहाँलाई विद्यालयले भने छाडेन । पुनः उहाँलाई विद्यालयले २०६९ चैतसम्म निजी स्रोतमा राख्यो ।
आजीवन शिक्षण पेसा अवलम्बन गर्नुभएका कर्ण सरले अहिले विद्यालय त छोड्नुभयो तर पूर्वविद्यार्थीको मनबाट भने उहाँ बाहिरिन सक्नुभएन ।
फलस्वरूप गुरुदक्षिणाका रूपमा घर पाउनुभयो । पूर्वविद्यार्थी समाज कङ्काली माविले २५ लाख रुपियाँको लगानीमा सो घर निर्माण गरेको समाजका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिनुभयो ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।