८ फागुन, काठमाडौं ।
प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँगको वार्ताका लागि आफूहरू सकारात्मक रहेको बताएका छन्। आज विज्ञप्ति जारी गर्दै चन्दले पार्टीको गतिविधि गर्न सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका हुन् ।
उनले आफूहरूको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनताको हित र अधिकारका लागि रहेका उल्लेख गरेका छन्। चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टीको सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।’
सरकारले फागुन २८ गते २०७५ मा विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो। त्यसपछि महासचिव विप्लवसहितका नेताहरू भूमिगत भएका थिए।
सरकारले चन्द समूहमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको बताइएको छ ।