अर्थमन्त्रीले मोतिपुर औद्योगिक करिडोरको शिलन्यास गर्न तयार गरिएको मञ्च स्थानीयले भत्काइदिए

२० फागुन, रुपन्देही । रुपन्देहीमा स्थानीयले मोतिपुर औद्योगिक करिडोरको शिलन्यास गर्न तयार गरिएको मञ्च भत्काइदिएका छन् ।

Advertisement

औद्योगिक व्यवस्थापन लिमिटेडको ढिलासुस्ती तथा स्थानीयको विरोधका कारण औद्योगिक करिडोरको काम अगाडि बढ्न सकेको थिएन।

शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले शिलन्यास गर्ने भनिएको कार्यक्रमको मञ्च मोतिपुरका स्थानीयले भत्काइदिएका हुन्। आफूहरूको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै असन्तुष्ट स्थानीयले उक्त मञ्च भत्काइदिएका हुन्।

Advertisement

यसअघि गत १३ गतेको लागि तय भएको शिलान्यास कार्यक्रम स्थगित भएपछि शुक्रबारको लागि तय भएको हो।

बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको क्षेत्रभित्र पर्ने तिनाउ नदीको उकास क्षेत्रको करिब १ हजार बिगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने गरी दुई वर्षपहिले नै औद्योगिक क्षेत्र कार्यालयसमेत शुभारम्भ गरिएको थियो।

Advertisement

झन्डै २ सय जनाको समूहमा आएका स्थानीयवासीले कार्यक्रमका लागि तयार गरिएको मञ्च र स्तम्भ भत्काइदिएको बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख निमेष अधिकारीले जानकारी दिए। कार्यक्रमका लागि तयारी गरिरहेको अवस्थामा अचानक स्थानीयको ठूलो समूह आएर हुल–हुज्जत गरेर मञ्च र शिलास्तम्भ भत्काएर मञ्च निर्माण गरिरहेका कामदारलाई समेत लखेटेको उनले बताए।

यसअघि बिहीबार बिहान स्थानीयले पत्रकार सम्मेलन गरी औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम रोक्न माग गरेका थिए।

उनीहरूले बस्ती र जोतभोगको जग्गा उपलब्ध गराइ बाँकी जग्गामा मात्र औद्योगिक क्षेत्र स्थापना गर्न माग गर्दै अन्यथा सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन्।

२०७३ सालमा स्थलगत निरीक्षणबिना ३ हजार ६२ घर र करिब २ सय ५० विगाहा जग्गासहित ८ सय १३ विगाहा जग्गा रातारात औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा पारेको अहिले पनि गास बासको ग्यारेन्टी नगरी औद्योगिक क्षेत्र निर्माण अघि बढाउन खोजेको शुद्धोधन गाउँपालिका ४ का स्थानीय रामप्रसाद पाण्डेको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top