२१ फागुन, काठमाडौँ । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ सार्वजनिक भएका छन् ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१३ बाट उनी सार्वजनिक भएका हुन् ।
हिजो बेलुका नवलपरासी आएका विप्लवले त्यहाँ सहिद परिवारको घरमा रात बिताएका थिए । उनले त्यहाँ सहिद परिवारसँगै आफ्ना कार्यकर्तासँग भेटवार्ता गरेका थिए ।
विप्लव केन्द्रीय सदस्य बाला थापासहित सुरक्षा सहयोगीकासाथमा आज काठमाण्डौमा आउँदै छन् ।
आज प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सहमति सार्वजनिक गर्दै छन् । कार्यक्रम राष्ट्रिय सभागृहमा दिउँसो २ बजे हुनेछ । सरकारले हिजो विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो ।
हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले २०७५ साल फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो ।
तस्बिर ः प्रकाश डुम्रेको फेसबुकबाट