२२ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् ।
प्रधानमन्त्री ओलीले भोलि बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोरोना विरुद्धको कोभिड शिल्ड खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन्।
प्रधानमन्त्री ओलीले खोप लगाएर आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियानको उद्घाटन गर्ने पनि मन्त्री त्रिपाठीले बताए ।
सरकारले आइतबारबाट हुने दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो ।
५५ वर्षमाथिका सबैलाई खोप नपुग्ने भएकाले अहिले ६५ वर्षमाथिकालाई मात्रै लगाउने निर्णय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले बताए ।
मन्त्रालयले दोस्रो प्राथमिकताको दोस्रो चरणमा ५५ वर्षमाथिका व्यक्तिहरूलाई खोप उपलब्धताका आधारमा क्रमशः खोप दिने व्यवस्था मिलाउने जनाएको छ । हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबैलाई खोप लगाउन सकिने मन्त्रालयले निर्णय गरेको छ ।
त्यस्तै आइतबार बिहान सवा ११ बजे कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने पनि मन्त्री त्रिपाठीले जानकारी दिए ।
कोभ्याक्स सुविधाअन्तर्गत आइतबार आउने कोरोना खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो । भारतले अनुदानमा दिएको १० लाख मात्रा कोभिसिल्ड खोप पनि अक्सफोर्ड अस्ट्राजेनेकाकै उत्पादन हो ।
त्यस्तै नेपालले खरिद गरेको २० लाख डोजमध्ये १० लाख डोज फागुन ८ गते आइसकेको छ । सरकारले अतिरिक्त ५० लाख डोज खोप किन्ने तयारी गरिरहेको पनि स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए ।