नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुन्छः प्रधानमन्त्री ओली

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताएका छन् । विश्व मिर्गौला दिवसका अवसरमा बुधबार आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिट्टै त्यस्ता सेवा स्थापना गर्न मिर्गौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा डा दिव्यासिंह शाहसहितका विज्ञ क्रियाशील रहेको जानकारी दिए ।

Advertisement

‘मिर्गौलालाई रोगबाट कसरी बचाउन सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपणसहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ,’ उनले भने । प्रधानमन्त्री ओलीले समेत दुईपटक मिर्गाैला प्रत्यारोपण गराइसेका छन्।

‘हाम्रो खानपिन वा दैनिकीमा मिर्गौलालाई असर पार्ने खानपिन वा व्यवहार के हो ? त्यसबाट कसरी जोगिनेजस्ता कुरालाई ध्यान दिन जरुरी छ,’ उनले भने । उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने सरकारको ध्येय रहेको जनाउँदै उनले मिर्गौला रोग जसलाई पनि हुन सक्ने भएकाले सबै सजग हुनुपर्ने बताए ।

Advertisement

पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गराए । ‘केही मानिसले मलाई बाहिर गएर उपचार गरायो भने तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिए,’ उनको भनाइ थियो ।

मिर्गौला रोगजस्तो जटिलताबाट बच्न स्वस्थ्य जीवनयापनका लागि आग्रह गर्दै प्रधानमन्त्रीले यसबारेका प्रचारलाई अझ थप व्यापक बनाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओली सम्बोधनपछिको प्रभातफेरीमा पनि सहभागी भएका थिए । वसन्तपुरबाट सुरु भएको प्रभातफेरी रत्नपार्क, असन, इन्द्रचोक हुँदै वसन्तपुरमा पुगेको थियो ।

Advertisement

वरिष्ठ मिर्गौला रोगविशेषज्ञ डा ऋषिकुमार काफ्ले वर्षेनी नेपालमा तीन हजार व्यक्तिको मिर्गौला बिग्रने गरेको बताए । उनले जीवनशैली, खानपान ख्याल नगर्दा मानिसको मिर्गाैला बिग्रने गरेको बताए । अस्वस्थकर जीवनशैली, पानीको कमी, मानसिक तनाव, मिर्गौलाको नियमित स्वास्थ्य जाँच नराउनुजस्ता कारणले मिर्गौला रोग लाग्ने गर्छ ।

उनका अनुसार मिर्गौला रोगबाट बचाउनका लागि मानिसमा जनचेतना जगाउन आवश्यक छ । ‘बिग्रँदो जीवनशैली र खानपान सन्तुलन नराख्दा मानिसको मिर्गौला बिग्रने गरेको छ,’ उनले भने, ‘उपचारभन्दा पनि मिर्गौला बिग्रन नदिनका लागि मानिसलाई जनचेतना जगाउन आवश्यक छ ।’

विश्वको जनसङ्ख्यामध्ये १० प्रतिशत मानिसलाई मिर्गौला रोग लाग्छ । मिर्गौला बिग्रिएपछि प्रत्यारोपण र रक्तशुद्धीकरण दुई मात्र विकल्प हुन्छ । नेपालमा मिर्गौला प्रत्यारोपण वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र, ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल, सुमेरु अस्पताल र निदान अस्पतालमा गरिन्छ ।

सरकारले मिर्गौला प्रत्यारोपण र रक्तशुद्धीकरणको निःशुल्क व्यवस्था गरेको छ । डा काफ्लेका वर्षेनी पाँच हजारले डायलासिस र दुई हजार ५०० जनाले मिर्गौला प्रत्यारोपण गर्ने गरेका छन् । ‘मिर्गौला रोगका साथमा स्वस्थ्य जीवन’को नारासहित आज नेपालसहित विश्वभर मिर्गौला दिवस मनाइँदैछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top