२८ फागुन, एजेन्सी ।
अमेरिकीका पूर्व राष्ट्रपतिहरूले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सामूहिक रूपमा उनीहरूले खोप लगाए पनि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने सहभागी नभएको जनाइएको छ ।
खोप लगाएको भिडियोसमेत सार्वजनिक गर्दै उनीहरूले कोरोनाविरुद्ध लड्न खोप नै मुख्य आधार भएकाले आफूहरूले खोप लगाएको उल्लेख गरेका छन् ।
उनीहरूले कुनै हिचकिचाहटबिना खोप लगाउनका लागि सबै अमेरिकी नागरिकलाई पनि आग्रह गरेका छन् । पूर्व राष्ट्रपतिहरू जिम्मी कार्टर, जर्ज डब्लु बुस, बिल क्लिन्टन र बाराक ओबामासँगै उनीहरूका प्रथम महिलाहरूले पनि खोप लगाएका हुन्।
खोप लगाएपछि पूर्व राष्ट्रपति ओबामाले भने, “खोपको अर्थ हाम्रो आशा हो, यसले हामीलाई रक्षा गर्छ, खतराबाट जोगाउछ, यो महामारीबाट बच्नका लागि हामी सबैले खोप लगाउनु पर्छ ।”
अन्य पूर्व राष्ट्रपतिहरूले पनि कोरोनाभाइरसविरुद्धको खोप लगाउनु आवश्यक रहेको र त्यसबाट कुनै नकारात्मक खतरा नरहेको चिकित्सकहरूले प्रमाणित गरेकाले आफूहरूले ढुक्क भएर खोप लगाएको उल्लेख गरेका छन् ।
निवर्तमान राष्ट्रपति ट्रम्पले भने खोपप्रति आफ्नो विश्वास नरहेको बताउँदै आउनु भएको थियो । तर उनले भने राष्ट्रपतिको भूमिकामै रहेका बेला गत जनवरीमै खोप लगाए पनि सार्वजनिक नगरेको विभिन्न सञ्चारमाध्यमले लेखेका थिए ।
