२८ फागुन, काठमाडौँ । भारतको नयाँ दिल्लीमा कोठी चलाउँदै आएकी नुवाकोटकी एक महिलालाई पक्राउ गरेको छ।
प्रहरीले दुप्चेश्वर नगरपालिका–२ घर भइ नयाँ दिल्लीको जिबी रोड ५६ नम्बरको गल्लीमा कोठी चलाउँदै आएकी ६२ वर्षीया (चमेली) सीता तामाङ भन्ने रूकमाया तामाङलाई पक्राउ गरेको हो।
मानव बेचबिखन अनुसन्धान ब्युरोले नुवाकोट प्रहरीको सहयोगमा उनलाई आइतबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) ढुण्डीराज न्यौपानेले जानकारी दिए।
पक्राउ परेकी तामाङलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान अगाडि बढाएको छ।
काभ्रेकी एक किशोरीलाई २०७२ सालमा चितवनको कुनै धनाढ्यको घरमा काम लगाइदिने भन्दै चमेलीकी सहयोगीले काठमाडौंबाट बस चढाएर भारत पु¥याएकी थिइन्।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दुर्गा सिंहका अनुसार ती किशोरीलाई पानीमा औषधि मिसाएर खुवाई बेहोस बनाएर भारतसम्म पु¥याएकी थिइन्।
’ती किशोरी यहाँ गार्मेन्ट फ्याक्ट्रीमा काम गर्थिन्। आमा बितेपछि ती किशोरी काम गर्न काठमाडौं आएकी थिइन्, ’एसएसपी सिंहले भनिन्, ’दुःख पाएर काम गर्न थालेकी थिइन्। उनलाई अर्को एक जनाले चितवनामा धनी मान्छेको घरमा काम लगाइदिने भन्दै बेचिदिएको रहेछ।’
नयाँ दिल्लीमा पु¥याएर ती किशोरीलाई चमेलीको कोठीमा बिक्री गरिएको थियो।
एसएसपी सिंहका अनुसार चमेलीले ती किशोरीलाई बन्धक बनाएर जबरजस्ती बेश्यावृत्तिमा लगाएकी थिइन्।
चमेलीविरूद्ध ती पीडित किशोरीले जाहेरी दिएपछि प्रहरीले उनी नेपाल आएको मौकामा उनलाई पक्राउ गरिएको एसएसपी सिंहले जानकारी दिइन्।
मानव बेचबिखनमा संलग्न रहेका अन्यको खोजी गरिरहेको प्रहरीले जनाएको छ।
चमेलीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार थप अनुसन्धान भइरहेको छ।