दुईहजार ट्याक्सीमा अहिलेसम्म पनि प्रिन्टर मेशिन जडान भएन

दुईहजार ट्याक्सीमा अहिलेसम्म पनि प्रिन्टर मेशिन जडान भएन

काठमाडौँ, जेठ ३०

नेपाल गुणस्तर तथा नापतौल विभागले कम्प्युटर विलिङ प्रणाली (प्रिन्टर मेशिन) जडान नगरेका २१० ट्याक्सीलाई कारबाही गरेको छ ।

विभागले जेठ महिनामा ट्याक्सीमाथि चलाएको विशेष अभियानअन्र्तगत उक्त ट्याक्सीलाई कारबाही गरेको हो । विभागमा हाल १० हजार ६४४ ट्याक्सी दर्ता भए पनि आठ हजार ३५४ ले मात्र प्रिन्टर मिटर जडान गरेका छन् । दुई हजार २९० ट्याक्सीले हालसम्म पनि प्रिन्टर मिटर जडान नगरेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पछिल्लो समय प्रिन्टर मेशिन जडान नगर्ने सवारीसाधनलाई विशेष कारबाही चलाएको जानकारी दिए । “प्रिन्टर मेशिन जडान नगरेका ट्याक्सीलाई ट्राफिक प्रहरीको सहयोगमा विभागको टोलीले अनुगमन गरेको र रु एक हजार जरिवाना तिराउँदै आएका छौँ,”– उनले भने ।

पक्राउ परेका ट्याक्सीमध्ये १८० ट्याक्सीले मिटर जडान गरेको र बाँकी ३० ट्याक्सी पनि मिटर जडान प्रक्रियामा रहेको विभागले जनाएको छ ।

विभागले २०७३ पुस १७ देखि उपत्यकाका ट्याक्सीमा प्रिन्टर मेशिन जडान गर्ने काम शुरुवात भएको थियो । २०७४ साउनसम्म प्रिन्टर मेशिन जडान गर्ने भने पनि दुई हजार ट्याक्सीमा अहिलेसम्म पनि प्रिन्टर मेशिन जडान भएको छैन ।

उपत्यकाका अधिकाशं ट्याक्सीमा प्रिन्टर मेशिन जडान गरे पनि यात्रुले भने बिल नपाउने गरेको गुनासो गरेका छन् भने अधिकाशं यात्रु ट्याक्सीबाट ठगिनेसमेत गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले प्रिन्टर मेशिन जडान गरेर पनि बिल नदिने ट्याक्सीमाथि महाशाखाले विशेष कारबाही गर्ने बताए । “प्रिन्ट बिल नदिने भए ट्याक्सीमा प्रिन्टर मेशिन जडान गर्नुको के औचित्य छ,”– उनले भने।

महाशाखाका प्रमुख पन्तले पछिल्लो समयमा मिटरमा जान नमान्ने तथा बिल नदिने ट्याक्सी चालकमाथि विशेष कारबाही अभियान चलाएको बताए ।

हाल काठमाडौँ उपत्यकामा मात्र ११ लाखभन्दा बढी र देशभर झण्डै २८ लाख सवारीसाधन आवतजावत गर्छन् ।
रासस

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.