उखु किसानको ५० करोड बक्यौता रकम भुक्तानी बाँकी

३० जेठ ७५, बुधबार

नवलपरासी, जेठ ३०
पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगबाट करीब रु ५० करोड बक्यौता रकम भुक्तानी पाएका छैनन् ।

Advertisement

जिल्लामा रहेको तीनवटै चिनी उद्योगबाट उखु दिएबापत पाउनुपर्ने भुक्तानी रकम हालसम्म पनि नपाएका हुन् । सबै चिनी उद्योगमा करीब रु ५० करोड भुक्तानी पाउन बाँकी रहेको उखु उत्पादन कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए।

यादवका अनुसार चिनी उद्योगले करीब रु ७५ करोडमध्ये हालसम्म करीब रु २५ करोड बराबरको भुक्तानी गरे पनि अन्य सबै रकम भुक्तानी गर्न बाँकी छ ।

Advertisement

पश्चिम नवलपरासीका किसानले उखुको तत्काल भुक्तानी नपाए आफूहरु राजमार्ग बन्द गरेर आन्दोलनको बाटो रोज्नुपर्ने चेतावनीसमेत दिएका छन् । पटकपटक उखुको भुक्तानी दिन माग गरे पनि जिल्लाका उद्योगले भुक्तानी नदिएको र सरकारलेसमेत पहल नगरेकाले राजमार्ग बन्दको विकल्प नरहेको भन्दै किसानले चेतावनी दिएका हुन् ।

चिनी उद्योगबाट समयमै भुक्तानी नहँुदा किसान आन्दोलनको बाटो रोज्न बाध्य हुने अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष दुधनाथ गुप्ताको भनाइ छ ।

Advertisement

पश्चिम नवलपरासीमा यसअगावै तीन वर्षअघि पनि उखुको भुक्तानी नपाएको भन्दै किसानले राजमार्ग बन्द गरेर आन्दोलन गरेका थिए । यस वर्ष पनि तत्काल भुक्तानीको व्यवस्था नभए हप्ता दिनपछि राजमार्ग बन्द गर्ने चेतावनी किसानले दिएका छन् ।

उद्योगीले भने चिनी बिक्री नभएकाले दिन नसकिने भन्दै किसानलाई आलटाल गर्ने गर्दै आएका छन् । उत्पादन भएका चिनी गोदाममा थन्किएकाले उचित मूल्य नपाएका कारण बिक्रीमा समस्या भएको उद्योगले जनाएका छन् ।

तीनवटा उद्योगले १६ लाख बढी क्विन्टल उखु क्रसिङ गरी चिनी उत्पादन गरेको समितिले जनाएको छ । भुक्तानी नपाउँदा जिल्लाका करीब १० हजार बढी किसान समस्यामा छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले दुई महिनाअघि उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिए पनि जिल्लाका किसानले भने अहिलेसम्म रकम पाउन सकेका छैनन् ।

यसबारे पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सबै उद्योगका सञ्चालकलाई समन्वय गरी भुक्तानी गर्न पहिल गरिने जानकारी दिए ।

समयमा भुक्तानी नपाउँदा जिल्लामा हरेक वर्ष उखु उत्पादन घट्दो छ । दुई वर्षअघि २५ लाख क्विन्टल उखु उत्पादन भएको जिल्लामा गत वर्ष २० लाख मात्र उत्पादन भएको थियो । यसवर्ष १६ लाख क्विन्टल उत्पादन भएको समितिले जनाएको छ ।

पछिल्लो पटक पश्चिम नवलपरासीको दक्षिणभेगमा करीब पाँचदेखि सात हजार हेक्टरमा उखु खेती गरिँदै आइएको छ । दक्षिणभेगका किसानको प्रमुख बाली उखु रहेको छ । नगदेबालीका रुपमा रहेको उखुको भुक्तानी नपाउँदा उद्यारो बालीमा परिणत हुँदै गएको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् ।

पश्चिम नवलपरासीको दक्षिण क्षेत्रको मुख्य बाली नै उखु हो । वर्षेनी यस क्षेत्रमा करीब २० लाख क्विन्टलका दरले उखु उत्पादन हुने गरेको छ । प्रत्यक्ष र अप्रत्यक्ष गरी करीब १० हजार घरपरिवार उखु खेतीमा निर्भर छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top