तत्काल अविश्वास प्रस्तावमार्फत हटाउने भन्दा पनि प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्छः माओवादी केन्द्र

तत्काल अविश्वास प्रस्तावमार्फत हटाउने भन्दा पनि प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्छः माओवादी केन्द्र

३ चैत्र, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

मङ्गलवार बिहान बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालिएको जानकारी गराए ।

सर्वोच्च अदालतले नै कदम असंवैधानिक ठहर गरिदिएकाले तत्काल अविश्वासको प्रस्तावमार्फत हटाउने भन्दा पनि प्रधानमन्त्री ओलीले नै तत्काल राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निर्णय रहेको छ । यस्तै बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णयसमेत गरेको छ ।

त्यस्तै माओवादीका ६ जना सांसद अर्को दलमा गएको भन्ने विषयमा आफ्नो धारणा पेस गर्न पत्राचार गर्ने निर्णय भएको प्रमुख सचेतक गुरुङले बताए ।

बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता र देव गुरुङलाई मुख्य सचेतकमा कायमै राख्ने निर्णय गरेको छ । बैठकमा संसदीय दलका नेता प्रचण्डले राजनीतिक घटनाक्रममा बारेमा जानकारी गराएका थिए ।

यस्तै बैठकले पार्टीको विधान संशोधनका लागि तीन सदस्यीय समिति बनाएको छ । प्रमुख सचेतक गुरुङ संयोजक रहने समितिको सदस्यमा रामनारायण बिडारी र रेखा शर्मा रहने माओवादी नेतृ पम्फा भुसालले जानकारी दिइन् ।

सर्वोच्च अदालतको फैसलाले नेकपा माओवादी केन्द्र बिउँतिएकोले विधानमा केही विषय फेरबदल गर्नुपर्ने हुँदा त्यसको कसरतका लागि तीन सदस्यीय कार्यसमिति बनाइएको नेतृ भुसालले जानकारी दिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.