३ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलिय बैठक गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले आगामी चैत ९ र १० गते बंगलादेशको राजकिय भ्रमणमा जाने बारे जानकारी गराउन सर्वदलिय बैठक आव्हान गरेकी हुन् । सर्वदलिय बैठक पछि संचारकर्मीलाई प्रतिक्रिया दिदै राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले भ्रमणबारे जानकारी दिन बोलाएको भएपनि केही समसामयिक राजनीतिक विषयमा पनि नेताहरुले धारणा राखेको बताए । उनले भने“समसामयिक विषयमा पनि फाटफुट्ट कुरा भयो । लामो बसाई भएन । सबैले बोल्नुभएन । कोही बोल्नुभयो कोही बोल्नुभएन । म पनि बोलेँ । मैले भनेँ–तपाईहरु जिम्मेवार ठाउँमा बसेका मान्छेले विचार गर्नुपथ्र्यो अहिलेको स्थिति कसरी आयोग भनेर राष्ट्रप्रमुख पनि सरकार प्रमुखलाई पनि पुग्नेगरी । मैले भनेको छु । २०६२/६३ सालमा जुन उपलब्धि भयो । यीनै राजनीतिक पार्टीका कारणले यो उपलब्धि फेरी गुम्नेवाला छ । गणतन्त्रमा कालोबादल मडारिसकेको छ । यसको कारण चाहीँ सम्बन्धीत ठाउँबाट राष्ट्रपति र सरकार प्रमुखबाट बढी गल्ती भएको छ भने मैले । ” बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ताजाजनादेश लिन चुनावमा जानुपर्ने बताएको र नेकपा माओवादी केन्द्रका अध्यक्षले समसामयिक राजनीतिक विषयमा कुरा गरेको नेता केसीले जानकारी दिए । उनले भने “प्रचण्ड जी ले समसामयिक विषयमा छलफल गरौ भन्नुभयो । उहाँको नरमै, राम्रै कुरा थियो । राजनीति पार्टीहरु बसेर छलफल गर्नुपर्छ र संसदबाटै समस्या समाधान गर्नुपर्छ । मोही माग्ने ढुंग्रो लुकाउने गर्नु त भएन । अहिले चुनावमा जाने राष्ट्रको स्थिति नै होइन भन्ने कुरा त प्राय सबैको त्यही थियो भावना । ” बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको शतबार्षिकीको अवसरमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी आगामी चैत ९ गते त्यसतर्फ जान लागेकी हुन् ।