४ चैत, ओखलढुङ्गा । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका वडा नं. ४ को सामुदायिक वनमा अगालगी भइरहेको छ । मंगलबार रातिदेखि शुरु भएको आगलागी अझैसम्म नियन्त्रणमा आउन सकेको छैन ।
आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ६० जना परिचालन गरिएको छ । यति गर्दा पनि आगो नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । आगो कसरी लाग्यो भन्ने थाहा नभएको र यसबारे अनुसन्धान गरिने उनको भनाइ छ ।
आगोले बस्तीमा क्षति नपु¥याओस् भनेर सुरक्षाकर्मी बस्ती जोगाउनतिर लागेका छन् । वन क्षेत्रमा भने अझै आगो बलिरहेको छ । स्थानीय बासिन्दाको समेत सहयोगमा आगो नियन्त्रण प्रयास भइरहेको प्रहरीले जनाएको छ । कति वन क्षेत्रमा क्षति पुग्यो भनेर अहिल्यै भन्न नसकिने नायव उपरीक्षक काफ्लेले बताए ।