ओलीले दिएको पीडा त कहिल्यै पनि बिर्सन सकिन्नँः अष्टलक्ष्मी शाक्य

४ चैत, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेला सुरु भएको छ । ललितपुरको एक पार्टी प्यालेसमा भएको भेलामा देशभरिबाट विभिन्न कमिटीका झण्डै दुई हजार कार्यकर्ता सहभागी छन् ।

भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीले वर्षाैँसम्म सँगै लडेका साथीलाई दिनुसम्म पीडा दिएको गुनासो गरिन् । ‘दुःख गरेर आएका नेतालाई हेला गर्ने, तुच्छ वचन बोल्ने र पार्टीबाटै हटाउने षड्यन्त्र गर्नुभएको छ । आफ्नै साथीलाई तुच्छ बोल्न कसरी सकेको होला ? केपी ओलीले दिएको पीडा त कहिल्यै पनि बिर्सन सकिन्नँ’, शाक्यले भनिन् ।

अध्यक्ष ओलीमा नैतिकता नै नभएको शाक्यको आरोप छ । ‘तपाईँले संविधान र लोकतन्त्र मास्ने नियतका साथ गरेको प्रतिगामी कदमलाई सर्वोच्चले उल्टाइदियो, यदि तपाईँमा अलिकति पनि नैतिकता बाँकी रहेको हुन्थ्यो भने राजीनामा दिइहाल्नुहुन्थ्यो तर तपाईँमा अलिकति पनि नैतिकता रहेनछ, उल्टै अरूलाई सिकाउँदै हिँड्नुभएको छ’, नेतृ अष्टलक्ष्मी शाक्यले भनिन् ।

Advertisement

तत्कालीन एमाले र माओवादी केन्द्रको एकताकै सहारामा ओली सत्तामा पुगेको र त्यसपछि मनपरी गर्दै एकतालाई सत्तामा पुग्ने भ¥याङ मात्रै बनाएको नेतृ शाक्यको भनाइ छ ।

सर्वोच्चले एमाले बिउँताइदिएपछि २०७५ सालको जेठ ३ गतेअघिकै अवस्थामा फर्कनुपर्नेमा ओलीले बालुवाटारमा गुट चलाउने र आफ्नो चाकरी गर्नेलाई मात्रै पद दिएर अरूलाई चिढाएको शाक्यको आरोप छ ।

Advertisement

एमालेलाई एकताबद्ध बनाउने हो भने ओलीले अहिलेसम्म गरेका गल्तीमा क्षमा माग्नुपर्ने र भविष्यमा लोकतन्त्र र पार्टीको विधान विरोधी काम नगर्ने प्रतिबद्धता जनाउनुपर्ने शाक्यले बताइन् ।

‘आत्मालोचना गर्नुहोस्, सबैलाई समेट्नुहोस्, अवसर छ, विधान मिच्न पाउनुहुन्न । २८ गतेको निर्णय तत्कालै फिर्ता गर्नुहोस् । माफी माग्नुहोस् । हामी चाहन्छौँ एमाले एक होस्’, शाक्यले भनिन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top