वैदेशिक रोजगारी: श्रमिकको समस्या, गुनासो, प्रश्न र जिज्ञासा सुन्न श्रम कल सेन्टर सञ्चालनमा

वैदेशिक रोजगारी: श्रमिकको समस्या, गुनासो, प्रश्न र जिज्ञासा सुन्न श्रम कल सेन्टर सञ्चालनमा

४ चैत, काठमाडौँ । अब वैदेशिक रोजगारीमा कुनै समस्यामा परेको, वा विदेश जाने तयारीमा रहेको वा देशभित्रै कुनै काम या व्यवसाय गर्ने योजना भएको भए आफ्नो समस्या, गुनासो, प्रश्न र जिज्ञासा वैदेशिक रोजगार बोर्डको कल सेन्टरमा राख्न सकिनेछ ।

वैदेशिक रोजगार बोर्डले श्रमिकका समस्या, जिज्ञासा सुन्न र सम्बन्धित निकायसँग समन्वय गरी त्यसको समाधान गर्नका लागि श्रम कल सेन्टर सञ्चालन गरिरहेको छ ।

कल सेन्टरमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीले वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, वैदेशिक रोजगार बोर्डलगायत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका निकायहरूका सेवा, कार्यक्रमहरूबारे कुनै पनि जानकारी, सुझाव वा गुनासो गर्न सकिने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए।

स्वदेश तथा विदेशमा रहेकाले फोन, इमेल, भाइवर लगायतबाट आफ्ना सुझाव, गुनासो वा जानकारी लिन सक्नेछन् ।

कल सेन्टरले जुन निकायसँग सम्बन्धित गुनासो वा सुझाव छ त्यसलाई तत्काल कल सेन्टरमार्फत त्यही निकायमा पठाउने व्यवस्था गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

गुनासो वा सुझावको सुनुवाइ भए/नभएको अनुगमन समेत हुन्छ ।

‘सेवाग्राहीलाई तत्काल सेवा दिन र साँच्चै नै सबै निकायलाई जिम्मेवार र उत्तरदायी बनाउनका लागि यो काम हामीले अघि बढाएका हौं, यसले सबैलाई फाइदा पुग्ने हाम्रो विश्वास छ,’ श्रेष्ठले भने ।

सम्पर्क नंम्बर

वैदेशिक रोजगार बोर्डको श्रम कल सेन्टरमा ११४१ नम्बरमा फोन गर्न सकिन्छ । कल सेन्टरको टोल फ्री नम्बर १६६००१५०००५ नम्बरमा पनि सम्पर्क गर्न सकिन्छ । देश तथा विदेशमा हुनेले ह्वाट्सएप नम्बर ०१५९७०००८ र भाइवरमा ९८०१८०००१३ नम्बरमार्फत सम्पर्क गर्न सकिन्छ । श्रम कल सेन्टर नामक फेसबुक पेजमार्फत पनि श्रम कल सेन्टरमा आफ्नो समस्या, प्रश्न र जिज्ञासा राख्न सकिन्छ ।

पहिले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको हाता भित्र रहेको श्रम कल सेन्टर अहिले वैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहलमा सारिएको छ । श्रम कल सेन्टरलाई थप प्रभावकारी रूपमा अघि बढाउनका लागि कल सेन्टर बोर्डमा सारिएको र अब अझ प्रभाकारी रूपमा श्रम कल सेन्टरमार्फत काम हुने कार्यकारी निर्देशक श्रेष्ठले बताए । साथै उनले आफ्नो समस्या, प्रश्न र जिज्ञासा श्रम कल सेन्टरमार्फत राख्न पनि अनुरोध गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.