१२ चैत, विराटनगर । विराटनगर बरगाछीका २२ वर्षीय विशाल रेग्मी बुबाको किरिया बस्दै परीक्षा लेखिरहेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत जेनिथ इन्टरनेशनल कलेजमा बिबिए आठौं सेमेस्टरको परीक्षा जारी छ । विशालको यो चौथो परीक्षा हो । उनी भन्छन्– ‘अझै एउटा परीक्षा बाँकी छ । क्याम्पसमा आएरै परीक्षा लेख्नु पर्ने बाध्यता छ ।’ उनी परीक्षाको तयारी गरिरहेका थिए । गत चैत ८ गते उनको बुबाको असामयिक निधन भयो । यसअघिका परीक्षा राम्रै भएपनि बिहिबारको परीक्षाका लागि भने उनलाई डर छ । ‘मानसिक रुपमा कमजोर भइन्छ, घरमा तयारी गर्ने वातावरण पनि हुँदैन ’, उनि दुखेसो पोख्छन्, ‘ कमसेकम घरबाट परीक्षा लेख्ने नीतिगत व्यवस्था पनि छैन ।’
किरिया बसेकै अवस्थामा परीक्षा लेख्ने विशाल पहिलो व्यक्ति होइनन् तर अपराधी करार भइसकेका व्यक्तिका लागि कारागार मै परीक्षा लेख्ने व्यवस्था मिलाइएपनि धार्मिक मान्यता अनुसार किरियापुत्री बसेको बेला भने परीक्षा केन्द्र मै पुगेर परीक्षा लेख्नुपर्ने बाध्यता छ । परीक्षा केन्द्रले छुट्टै कोठामा बसेर परीक्षा दिने व्यवस्था मिलाएको भने रहेछ तर पितृशोकमा रहेका परीक्षार्थीले केन्द्रमा पुगेर परीक्षा लेख्दा बलियो मानसिकताले मात्रै पुग्दैन । भविष्यसँग जोडिएको परीक्षाका बेला यस्ता दुर्घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर महत्वपूर्ण नीतिगत व्यवस्था नै गरिनुपर्ने उनी बताउँछन ।