विराटनगर :रुसमा जारी विश्वकप फुटबलमा हिजो भएको तेस्रो खेलमा समूह सी मा रहेको डेनमार्कले आफ्नो विश्वकप यात्रा पेरु विरुद्धको कठिन जितबाट सुरु गरेको छ ।
पहिलो हाफमा पेनाल्टीको अवसर खेर फालेको पेरुलाई १–० ले हराउँदै डेनमार्कले समूह सी मा तीन अंक जोडेको छ । यसैविच, रसिया विश्वकपमा क्रोएसियाले पनि विजयी सुरुवात गरेको छ ।
अफ्रिकी पावरहाउस नाइजेरियालाई २–० ले हराउँदै क्रोएसियाले तीन अंक जोडेको छ । हिजोकै खेलमा अर्जेन्टिना अंक बाँड्न बाध्य भएको छ । विश्वकपको नवप्रवेशी टोली आइसल्याण्डसँग एक एक गोलको बराबरीमा रोकिएपछि अर्जेन्टिना अंक बाँड्न बाध्य भएको हो ।
१९ औ मिनेटमा गोल गर्दै अग्रता लिएपनि अर्जेन्टिनाले त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो । कप्तान लियोनेल मेस्सीले पेनाल्टीमा गोल गर्न नसकेपछि अर्जेन्टिनाले खेल जित्ने सुन्दर मौका चुकाएको हो । विश्वकप फुटबलमा उपाधि दाबेदार मानिएको फ्रान्सले विजयी सुरुआत गरेको छ अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै फ्रान्सले सुखद सुरुआत गरेको हो ।
रुसमा जारी विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समुह ई को पहिलो खेलमा सर्वियाले कोष्टा रिकाको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे सामरा शहरको सामरा एरिनामा हुनेछ । आज हुने दोस्रो खेलमा जर्मनीले मेक्सिकोको सामना गर्नेछ ।
चार पटकको विश्व विजेता जर्मनी र लेटिन अमेरिकी मुलुक मेक्सिकोबीचको खेल वेलुकी पौने ९ बजे सुरु हुनेछ । आजै राति पौने १२ बजे ब्राजिल र स्विट्जरल्याण्ड भिड्नेछन् । पाँच पटक विश्वकपको उपाधि उचाल्दै विश्वकप फुटबलको सर्वाधिक सफल टोली बनेको ब्राजिललाई यसपटक पनि मुख्य दावेदार मानिएको छ ।