बिपी विचार राष्ट्रिय समाजका पदाधिकारी खनिए कांग्रेस नेतृत्वमाथि

बिपी विचार राष्ट्रिय समाजका पदाधिकारी खनिए कांग्रेस नेतृत्वमाथि

विराटनगर,असार ४
बिपी विचार राष्ट्रिय समाजका अध्यक्ष कुलबहादुर गुरुङले तीन तहकै निर्वाचनमा नेपाली काङ्ग्रेसले भोग्नुपरेको लज्जास्पद पराजयको सम्पूर्ण जिम्मेवारी टिकट वितरण गर्ने संसदीय समिति, वर्तमान केन्द्रीय समिति र यसको नेतृत्वले लिनुपर्ने बताएका छन्।

समाजको प्रदेश नम्बर १ र मोरङ जिल्ला कार्यसमितिको आयोजनामा अाइतबार भएको ध्रुवीकृत राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेसको भूमिका विषयको विचार गोष्ठीमा अध्यक्ष गुरुङले यस्तो आग्रह गरेका हुन् ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गुरुङले आगामी छ महिनाभित्र पार्टीको नयाँ नेतृत्वको चयन गरिनुपर्ने माग गुरे। पार्टीको विधानमा समयानुकूल परिमार्जन गरेर नयाँ नेतृत्वको चयन गर्नु एकमात्र समाधान भएको उनको धारणा थियो । समाजमा सह अध्यक्ष एवम् पूर्वमन्त्री गोविन्दराज जोशीले काङ्ग्रेसको नेतृत्वले निर्वाचनका बेला टिकट विक्री गरेको आरोप लगाउँदै उम्मेदवारी दिँदा पनि पक्षपात गरिएको बताए ।

पूर्वमन्त्री जोशीले यति बेला काङ्ग्रेसको सैद्धान्तिक निष्ठा र नीति स्पष्ट नभएको तथा काङ्ग्रेस वामपन्थीसित के कुरामा भिन्न छ भन्ने पहिचान हुन नसकेको धारणा प्रकट गरे। समाजका महासचिव विनयध्वज चन्दले नेपाली काङ्ग्रेसबाट बिपी होइन, बिपीबाट नेपाली काङ्ग्रेस बनेको विचार व्यक्त गरे। महासचिव चन्दले कसैको सम्पत्तिको उत्तराधिकारी उसका सन्तान भए पनि विचारका उत्तराधिकारी जो पनि हुन सक्ने र जसले त्यो विचार बोक्यो उही वास्तविक उत्तराधिकारी हुने दाबी गरे ।

समाजका केन्द्रीय सदस्य लोकेश ढकालले अन्तर्घात, अनुशासनहीनता र अराजकता काङ्ग्रेसभित्र कहिल्यै निको नहुने रोगजस्तो भएर बसेको टिप्पणी गरे । केन्द्रीय सदस्य ढकालले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वले काङ्ग्रेसलाई जनतामा अलोकप्रिय बनाएको बताए । चुनावका मुखमा विवादास्पद व्यक्तिलाई राजदूतमा नियुक्ति गर्ने, एउटा डिआइजीको नियुक्तिमा सिङ्गो पार्टीलाई बदनाम गराउने र प्रधानन्यायाधीशमाथि व्यर्थको अविश्वास प्रस्ताव ल्याउने जस्ता कामले पार्टी बदनाम र कमजोर भएको उनको भनाई थियो ।

बिपी विचार राष्ट्रिय समाज मोरङका अध्यक्ष कविराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, काङ्ग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी लगायतका वक्ताले विपीको चिन्तन र विचारले मात्र काङ्ग्रेसले पुनर्जीवन पाउने धारणा व्यक्त गरे ।

यसैबीच नेपाली कांग्रेसले प्रदेश १ का तर्फबाट जिल्ला सभापतिहरुको भेलामा साझा धारणा प्रस्तुत गर्ने भएको छ । यसका लागि प्रदेशका सभापतिहरुले विराटनगरमा छलफल गरेका छन् । अाइतबार उदयपुर बाहेकका १३ जिल्लाका सभापतिहरु काँग्रेसको मोरङ कार्यालयमा भएको छलफलमा सहभागी भएका थिए ।

काँग्रेस झापाका सभापति उद्धब थापाले विधान संशोधनदेखि पार्टीको अबको भूमिका, पार्टी अन्तरसंघर्ष, नेतृत्वलगायत विषयमा साझा धारणा लिएर जाने बताए । काँग्रेस सभापतिहरुको भेला असार ४ गते हेटौंडामा शुरु हुँदैछ ।

काँग्रेस ताप्लेजुङकी सभापति लीला बोखिमले साझा धारणालेले राम्रो सुझाव र सन्देश जाने भएकोले पनि हामीले यो प्रयास गरेको जानकारी दिए । यस्तै कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले काँग्रेसको भावि कार्यदिशाबारे पनि छलफल गरेर सुझावसहित जाने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.