वाम गठबन्धन भत्काएर महन्थहरुसँग मिलेर सरकार टिकाउन खोजेको भुसालको आरोप

वाम गठबन्धन भत्काएर महन्थहरुसँग मिलेर सरकार टिकाउन खोजेको भुसालको आरोप

२ वैशाख, बुटवल । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले विचार र सिद्धान्त विपरीत ध्रुवको जनता समाजवादी पार्टीसँग मिलेर सरकार टिकाउन खोज्नु गलत भएको बताएका छन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले वाम गठबन्धनको सरकार भत्काएर महन्थ ठाकुरहरुसँग मिलेर सरकार टिकाउन खोजेको आरोप उनले लगाए ।

प्रेस चौतारी नेपाल (नेपाल पक्ष) ले गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिलेको मुलुकको सबैभन्दा बिसंगत विषय भनेकै वाम गठवन्धनको सरकार भत्काएर विपरीत मुद्दा र सिद्धान्त बोकेकासंग गठबन्धन गरेर सरकार टिकाउनु हो’ भुसालले भने ।

भुसालले आउँदो चुनावसम्म पार्टीभित्र अन्तरसंघर्ष गर्दै जाने बताएका छन् । चुनावमा टिकट वितरणका बेला महाभारतमा पाण्डवले कौरवसंग खुट्टाले टेक्ने ठाउँ मागेजस्तै माग्ने र नदिए आम कार्यकर्ताको निर्णयअनुसार अघि बढ्ने उनको भनाइ छ ।

ओलीकै कारण एउटै कमिटीमा रहेर अन्तरसंघर्ष गर्ने अवस्था नभएकाले पार्टीभित्र समानान्तर कमिटीको अभ्यास गरेको उनको स्पटोक्ति थियो ।

‘हामीले अब गर्ने भनेको अन्तरसंघर्ष नै हो, चुनावको टिकट बाँड्ने बेलामा पाण्डवले जस्तै खुट्टा मात्रै टेक्ने ठाउँ माग्छौं, त्यो पनि नदिए कार्यकर्ताको निर्णय अनुसार अघि बढ्छौं’ भुसालले भने, ‘तर ओलीको कुर्सी अहंकारले पार्टी विभाजनतिर गएको छ, हामी विभाजन हुन नदिने पक्षमा छौंं ।’

चुनावअघि नै एमाले एकता गर्ने आफूहरुको प्रयास हुने र त्यो सम्भव नभए कार्यकर्ताले जे भन्छन् त्यही मान्ने उनको भनाइ छ । संसदको अंक गणितले वाम गठवन्धनको सरकार बन्ने सम्भावना अझै रहेपनि ओलीकै कारण त्यो सम्भावना टाढा धकेलिएको भुसालले बताए ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि फागुन २८ गते अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक भनेर विभिन्न निर्णय गरेपछि पार्टी विभाजनको रेखा कोरिएको भुसालले बताए ।

अध्यक्ष ओलीको आफू कुर्सीमा रहिरहने तृष्णाले पहिले नेकपा र अहिले एमाले कमजोर बन्दै गएको भुसालले टिप्पणी गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.