२३ बैशाख, बुटवल । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ ।
चार कोरोना विशेष अस्पतालमा यी जनशक्ति अस्थायी रूपमा भर्ना गर्न लागिएको हो । अघिल्लो वर्ष महामारीका बेला ४ सय जनशक्ति करारमा भर्ना गरिएको थियो।
कोरोना संक्रमण घटेपछि उनीहरुको करार नवीकरण गरिएको थिएन । मन्त्रिपरिषद् बैठकले अस्थायी दरबन्दी थपसम्बन्धी निर्णय गरेको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा १ सय ८९ दरबन्दी थपिँदै छन्।
त्यस्तै बेलझुन्डीस्थित राप्ती प्रादेशिक कोरोना विशेष अस्पतालमा १ सय ७१, भेरी अस्पताल नेपालगन्जमा १ सय ५२ र भैरहवाको भीम अस्पतालमा ७१ दरबन्दी थप्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताए ।