२७ बैशाख, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धन तथा विकास र समृद्धिलाई तोड्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बताए ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा प्रचण्डले पार्टीभित्रको आन्तरिक विवादले सिङ्गो देश र समाजलाई आक्रान्त हुने गरी सार्वभौम संसद्लाई प्रधानमन्त्री ओलीले विघटन गरेर आफ्नो दम्भ र अहङ्कार देखाएको टिप्पणी गरे ।
निरङ्कुश र स्वेच्छाचारी तरिकाले संसद् विघटन गरेकाले विश्वासको मत दिन नसकिने प्रचण्डको भनाइ छ । उनले प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कुरा पनि तर्क सङ्गत नभएको र नाटकीय लागेको बताए ।
प्रचण्डले प्रधानमन्त्री ओलीलाई यो सदन र यी माननीय सदस्यसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र ? भनेर पनि प्रश्न गरे । यस्तै उनले बेला–बेलामा आफूलाई राष्ट्रिय समस्याका रूपमा चित्रित गरेको भन्दै राष्ट्रिय समस्या तपाईँ कि म ? भनेर प्रश्नसमेत गरे ।