३ असार, एजेन्सी ।
उत्तर कोरियाका नेता किम जोङ्ग–उनले शीर्ष नेताहरुको बैठकलाई सम्बोधन गर्दै देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको चिन्ता ब्यक्त गरेका छन् ।
यससंगै उनले औपचारिक रुपमा आफ्नो देशमा खाद्य संकट रहेको स्वीकार गरेका हुन् । कृषि क्षेत्रले देशको माग धान्न नसकेको उनले उल्लेख गरेका छन् ।
गएको वर्षको तुफानका कारण आएको बाढीका कारण खेतीपातीमा क्षति भएकाले माग अनुसारको उत्पादन हुन नसकेको उनले उल्लेख गरेका छन् ।
उत्तर कोरियामा खाद्यान्नको मूल्य निकै बढेको खबर आइरहेका छन् । एनके न्यूजले एक किलो केराको मूल्य ४५ अमेरिकी डलरसम्म पुगेको खबर छापेको थियो ।
उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिने भन्दै आफ्नो सीमा बन्द गरेको छ । जसका कारण चीनसँगको उसको व्यापारिक गतिविधि ठप्प छ । खाद्यान्न, मलखाद तथा उर्जाका लागि उत्तर कोरिया चीनमा निर्भर रहँदै आएको छ ।
यस्तै उसको परमाणु कार्यक्रमका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण पनि उत्तर कोरिया समस्यामा छ ।
सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय समिति बैठकमा नेता किमले देशको खाद्य अवस्थाबारे बोलेका हुन् । यो हप्ता राजधानी प्योङ्याङ्गमा बैठक सुरु भएको हो ।
बैठकमा नेता किमले गएको वर्षको उही अवधिको तुलनामा यो वर्ष औद्योगिक उत्पादन भने एक चौथाईले बढेको बताएका छन् ।
बैठकमा अमेरिका र दक्षिण कोरियासँगको सम्बन्धलाई लिएर पनि छलफल हुने जनाइएको छ । तर कुनै पनि विवरण अहिलेसम्म सार्वजनिक भएको छैन ।
