हस्ताक्षर फिर्ता नलिए एमालेबाट बाहिरिएसरह हुने बालुवाटारको निष्कर्ष

हस्ताक्षर फिर्ता नलिए एमालेबाट बाहिरिएसरह हुने बालुवाटारको निष्कर्ष

२० असार, काठमाडौं ।

एमाले केन्द्रीय कमिटी बैठकले असन्तुष्ट माधवकुमार नेपाल समूहलाई विपक्षी गठबन्धन रोज्ने कि एमाले पार्टी रोज्ने भन्दै आइतबारसम्मका लागि अल्टिमेटम दिएको छ ।

दुई दिनसम्म चलेको एमाले केन्द्रीय कमिटी बैठकले आफ्नै सरकारविरुद्ध विपक्षीसँग गठबन्धन गर्ने नेपाल समूहको कार्य अनैतिक भएको ठहर गर्दै आइतबार साँझसम्म उनीहरूले हस्ताक्षर फिर्ता नलिए उनीहरू स्वतहः एमालेबाट बाहिरिएको पुष्टि हुने निष्कर्ष निकालेको छ ।

शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको एमालेको केन्द्रीय कमिटी बैठक अब प्रतिनिधि सभा विघठन सम्बन्धमा सर्वोच्च अदालतले फैसला गरेको भोलिपल्ट बस्नेगरी सकिएको छ ।

एमालेको शुक्रबारको बैठकले नेपाल समूहलाई दुई दिनसम्म हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो तर नेपाल समूह हस्ताक्षर फिर्ता नलिने अडानमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको बैठकमा नेपाल समूहले आइतबारसम्म हस्ताक्षर फिर्ता नलिए एमाले एकता उनीहरूकै कारण भाँडिने बताएका थिए ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफ्नै विपक्षी गठबन्धनसँग मिलेर आफ्नै सरकार ढलाउने खेलमा लाग्नेहरू एमालेको नेता तथा कार्यकर्ता हुनै नसक्ने ठोकुवा गरे । उनले नेपाल समूह पार्टी एकताका लागि गम्भीर र संवेदनशील नभएको स्पष्ट पारे । अब कसैलाई कुर्दैनौं, पार्टी आफ्नै गतिले अघि बढ्छ,’ अध्यक्ष ओलीले भने ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न १३औं केन्द्रीय कमिटी बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले महाधिवेशन केन्द्रीय कार्यक्रमको प्रस्ताव पेस गरेका छन् ।

एमाले नेता काशीनाथ अधिकारीका अनुसार प्रतिनिधिसभा पुनस्र्थापना नभए २०७९ साल वैशाखभित्रमा र यदि प्रतिनिधिसभा पुनस्र्थापना भएको अवस्थामा यसैको सेरोफोरोमा मिति तोकेर महाधिवेशन गर्नुपर्ने प्रस्ताव बैठकमा गरिएको थियो ।

महासचिव पोखरेलले गरेको प्रस्तावअनुसार पार्टीको विधान महाधिवेशन २५ देखि २७ साउनमा काठमाडौंमा हुनेछ । शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक शनिबार यही निर्णय गर्दै सम्पन्न भएको अधिकारीले बताए ।

पार्टी महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै पार्टी सदस्यता नवीकरण असार महिनाभित्रमा गरिसक्नुपर्नेछ । सदस्यता नविकरणपश्चात् जिल्लाले सोको विवरण ५ साउनभित्र केन्द्रीय कार्यालयमा पठाउनुपर्नेहुन्छ ।

महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेललाई सांगठनिक, उपमहासचिव विष्णु पौडेललाई विधान प्रतिवेदन तथा नेता रामबहादुर थापा बादललाई व्यवस्थापनको जिम्मेवारीमा दिइएको छ ।

यसैगरी, बैठकले ५ भदौमा वडा र १५ भदौमा पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले विभाग गठन गरी स्थायी कमिटीबाट अन्तिम रूप दिने निर्णय गरेको छ । एमालेमा ३२ वटा विभागहरू रहेका छन् । पार्टीले नेता कार्यकर्तालाई आमनिर्वाचनको तयारीमा जुटन निर्देशनसमेत दिएको छ ।

यस्तै, बैठकमा ३० वैशाख २०७९ भित्र पार्टीको १०औं महाधिवेशन गर्ने प्रस्ताव गरिए पनि त्यस सम्बन्धमा कुनै निर्णय भएन । यसअघि एमालेले २ देखि ६ मंसिर २०७८ मा महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, यो निर्णय कार्यान्वयन नहुने अवस्थामा पुगेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.