नारायणगढ–मुग्लिङ सडक खण्ड एकतर्फी खुल्यो

नारायणगढ–मुग्लिङ सडक खण्ड एकतर्फी खुल्यो

२३ असार, काठमाडौं ।

पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिङ सडक खण्ड एकतर्फी खुलेको छ । पहिरोका कारण हिजो बेलुका सात बजेदेखि बन्द भएको सडक केहीबेर अघिदेखि एकतर्फी खुलाइएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए ।

काठमाण्डौ प्रवेश गर्ने मुख्य सडकको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक खण्डमा झन्डै एक हप्तायता पहिरोले लगातार समस्या पार्दै आएको छ ।

वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने क्रम चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका गाडीले पार गर्न नपाउँदै फेरि अर्को पहिरो जाने समस्या बढेको हो ।

यो सडक खण्डमा अझै केही दिनसम्म यस्तै समस्या रहिरहने प्राविधिकहरुको अनुमान छ । यो सडक खण्डमा पर्ने चितवनको सेतीदोभान, इच्छाकामनाको चारकिलो, पाँचकिलो, चौध किलोलगायतका ठाउँमा पहिरो खस्ने गरेको छ। यो सडक हुँदै दैनिक १० हजारसम्म साना–ठूला गाडी आवतजावत गर्छन् ।

नारायणगढ–मुग्लिङ सडक खण्डसहित अहिले देशभरका १३ वटा राजमार्ग तथा सडकमार्ग बन्द छन् । यी सडकमार्ग पनि खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.