विराटनगर,असार १८
आइतबाररातिदेखि परेको अबिरल बर्षापछि विराटनगर महानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन । महानगरमा जारी अब्यवस्थित विकास निर्माणका कारण पानीले निकास नपाएपछि महानगर जलमग्न भएको हो । रातिदेखि परेको अविरल पानीले निकास नपाएपछि विराटनगर जलमग्न भएको छ ।
यसक्षेत्रमा पछिल्लो समय ४६ मिलिमिटर बर्षा भएको छ । एकैपटक नगरक्षेत्रका अधिकांश बाटा र नाला भत्काइएकाले पानीले निकास नपाउदा नगरक्षेत्रका सडक सहित स्कुल,अस्पताल,कार्यालय र सर्वसाधारणका घर जलमग्न भएको छ । नगरक्षेत्रका बाटाघाटा जलमग्न र हिलाम्मे भएपछि सर्वसाधारणलाई सवारीसाधन कुदाउन र आउजाउ गर्न समस्या भएको छ ।
विराटनगरको पोखरीयास्थित राधाकृष्ण माध्यमिक विद्यालय परिसर जलमग्न भएपछि विद्यार्थीहरुलाई समस्या भएको छ । खोलाको जलस्तर बढेपछि खोला आसपास घर बनाएर बस्दै आएका सुकुम्बासी परिवारमा त्रास उत्पन्न भएको छ । गएको बर्ष भिषण बाढीको पीडा खेपेका कयौं सुकुम्बासी परिवारले हालसम्म समेत सरकारी राहत रकम पाउन सकेका छैनन । मनसुन शुरु भएको पहिलो चरणमै नगरक्षेत्र जलाम्मे भएका कारण सर्वसाधारण थप चिन्तित भएका छन ।
कोशीको बहावमा उतारचढाव जारी
पूर्वि भेगमा २ दिनयताको वर्षासँगै सप्तकोशी नदीको वहावमा उतार चढाव हुने क्रम जारी छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको वहाव १ लाख ६ हजार ७ सय ९० क्युसेक प्रतिसेकेण्ड रहेको छ । ब्यारेजका १६ वटा ढोका खोलिएका छन् । सप्तकोशी नदीको जलस्तरमा उतार चढावको क्रम जारी रहेपनि हिजोको तुलनामा आज नदीको वहावमा कमी आएको छ ।
एक लाख ३१ हजार क्युसेक पुगेको नदीको बहाव क्रमश घट्दो क्रममा रहेको छ । पूर्वि पहाडी सहितका भेगमा अविरल वर्षा भएको खण्डमा कोशी नदीमा पानीको सतह बढ्ने गर्छ । मौसम विभागले जलस्तर बढ्न सक्ने भन्दै नदी किनारमा रहेकाहरुलाई सर्तक रहन अपिल गरेको भएपनि सुनसरी प्रशासनले सप्तकोशी नदीमा हालसम्म कुनै खतरा भने नरहेको जनाएको छ ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले कोशीका सबै तटबन्ध सुरक्षित रहेकाले आत्तिनु पर्ने अवस्था नरहेको बताए । सुनसरी प्रशासनले सप्तकोशी नदीको वहावको विषयमा हुने अफवाहको पछी नलाग्न सर्वसाधारणमा आग्रह समेत गरेको छ ।